नेपाली कांग्रेस नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलमलाई मस्तिष्क घात भएपछि अस्पताल भर्ना गरिएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई परिवारले शुक्रवार अस्पताल पुर्‍याएका हुन। अहिले आलमको माइतीघर स्थित अन्नपूर्ण न्यूरो अस्पतालको सघन उपचार कक्षमा  उपचार भइरहेको छ। 
पूर्वसांसद आलमको मस्तिष्क घातका कारण अस्पताल भर्ना भएकाले आज शनिवार रौतहट आउने कार्यक्रम स्थगित भएको तरुण दलका केन्द्रीय सदस्य शेख नौसाद आलमले बताए। पूर्वसांसद आलम आलम अस्वास्थ्यका कारण तत्काल रौतहट नआउने उनको भनाइ छ।
उनी उच्च रक्तचाप र मधुमेहका बिरामी पनि हुन्। लामो समयदेखि औषधि सेवन गर्दै आएका पूर्वसांसद आलमको मस्तिष्क घात भएपछि शुक्रवार बिहान करिब ११ बजे परिवारले अस्पताल पुर्‍याएका थिए। अहिले आइसियुमा राखेर उनको उपचार भइरहेको छ।’ केन्द्रीय सदस्य आलमले भने। 
पूर्वसांसद आलमको स्वास्थ्यमा केही सुधार हुँदै गएको उनले जानकारी दिए। राजपुर बमकाण्डको अभियोगमा आलम ५ वर्ष ८ महिना ८ दिन कारागार जीवन बिताएर बुधवार रिहाइ भएका हुन्। ०६४ चैत्र २८ गते भएको पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन बम विस्फोटमा परी घाइते भएकाहरूलाई जिउँदै ईटा भटामा जलाएर हत्या गरेको आरोपमा जिल्ला अदालत गौरले मोहम्मद अफताब आलमसहितलाई ०८१ वैशाख १४ गते जन्मकैदको फैसला गरेपछि कारागार थिए। जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको फैसला उच्च अदालत जनकपुरको अस्थायी इजलासले उल्ट्याएको हो।
न्याय परिषदमा उजुरी
उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय डा।खुसीप्रसाद थारु र अर्जुन महर्जनविरुद्ध न्याय परिषदमा औपचारिक उजुरी परेको छ। न्यायाधीशद्वय विरुद्ध छानबिन गरी कारबाही र निलम्बनको माग गर्दै युवराज पौडेल (सफल) ले उजुरी दर्ता गराएका हुन्। उनले उजुरीमा न्यायाधीशद्वयलाई पदबाट निलम्बन गर्न, उच्च अदालतको मिसिल र जिल्ला अदालतको फैसला दुवै अध्ययन गरी तुलना गर्न र उनीहरूले विगतमा गरेका अन्य विवादास्पद फैसलाहरूको पनि पुनरावलोकन गर्नका लागि उजुरीमा माग गरिएको छ।