संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सर्वोच्च शिखर सगरमाथाप्रति विश्वले गौरव गर्ने बताएका छन्। 
बिहीबार ७२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा वसन्तपुरमा आयोजित कार्यक्रममा मन्त्री पाण्डेले सगरमाथाको संरक्षण र प्रवर्द्धनमा सचेतना अभिवृद्धि गर्दै विश्वभरका पर्यटनलाई नेपालमा आकर्षण गर्न सबै सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए। 
पर्यटनमन्त्री पाण्डेले भने,‘सगरमाथा हाम्रो पहिचान र गौरव त हो नै यसप्रति विश्वले नै गौरव गरेको छ। पृथ्वीको सबैभन्दा उच्चो भूगोल भएको सगरमाथामार्फत् हाम्रो पहिचानलाई स्थापित गर्न सगरमाथा संवाद पनि आयोजना गर्‍यौ र विश्वलाई सगरमाथाको देशप्रति आकर्षित गर्‍यौ।’
उनले जलवायु परिवर्तनका कारण हिमालहरू काला पत्थरमा परिणत हुने जोखिम बढेको र सगरमाथाको हिउँ पग्लिँदा नेपाललाई मात्र नभई सिङ्गो पृथ्वीलाई नै असर गर्ने बताए। 
सगरमाथा दिवसको अवसरमा बिहीबार बिहान प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा प्रभात फेरी आयोजना गरियो। कर्मचारी सञ्चय कोष ठमेलबाट सुरु भएको झाँकी, ब्याण्डबाजासहितको ¥रयाली वसन्तपुर पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो।
र्‍यालीमा पर्यटनमन्त्री पाण्डे, निमित्त पर्यटन सचिव इन्दु घिमिरे, पर्यटन विभागका महानिर्देशक नारायण रेग्मी, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशी तथा निजी क्षेत्रका पर्यटन व्यवसायीहरूको छाता सङ्गठनका प्रतिनिधि, सरकारकी कर्मचारी, सुरक्षा निकायलगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो।
यससँगै नेपाल पर्यटन बोर्ड परिसरमा रहेको तेञ्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको पूर्णकदको सालिकमा समेत माल्यार्पण गरिएको छ। 
सन् १९५३ मे २९ तारिखका दिन नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएका थिए। अन्तर्राष्ट्रिय सगरमाथा दिवसलाई भव्य रूपमा मनाउन पर्यटन मन्त्रीको अध्यक्षतामा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मूल समारोह समिति गठन गरिएको छ।