कान्तिपुर थिएटरको पहिलो प्रस्तुति नाटक ‘मीरा’ आजबाट प्रदर्शन हुने भएको छ। कान्तिपुर फिल्म एकेडेमी गैह्रिधारामा साँझ ५ः३० बजेबाट नाटक प्रदर्शन हुनेछ।
‘मीरा’ले समाजमा रहेका विभिन्न भावनात्मक उतारचढाव, पारिवारिक सम्बन्धहरू, र सामाजिक संरचनाको सङ्घर्षलाई उजागर गर्ने निर्देशक सुन्दर धितालले बताए। नाटकले प्रेम, स्वतन्त्रता, र आफ्नो पहिचान खोज्ने यात्रामा समाजले लगाउने नियम, परम्परा र अपेक्षा देखाउने धितालले बताए।
‘मीरा’ दीपक सिंजालीद्वारा लिखित नेपाली उपन्यास हो। यो उपन्यासको मुख्य पात्र ‘मीरा’ नाम गरेकी युवती हुन्। जसको जीवनमा आउने विभिन्न भावनात्मक उतारचढाव, पारिवारिक सम्बन्धहरू, र सामाजिक संरचनासँगको सङ्घर्षलाई गहिरो रूपमा चित्रण गरिएको छ।
‘मीरा’ प्रेम, स्वतन्त्रता, र आफ्नो पहिचान खोज्ने यात्रामा समाजले लगाउने नियम, परम्परा र अपेक्षासँग जुधिरहेकी पात्रको कथा हो। उपन्यासमा सोह्रौँ शताब्दीकी कृष्णभक्तिनि मीर बाईको मिथकलाई सामान्यीकरण गरिएको छ।
नाटकको मुख्य भूमिकामा अभिनेत्री रेखा थापा रहेकी छिन्। उक्त नाटकको निर्माताका रूपमा रमेश पुरी रहेका छन् भने, परिकल्पना तथा निर्देशक सुन्दर धितालले गरेका हुन्। त्यस्तै, नाटकमा कलाकारका रूपमा विशाल पहारी, बिन्दा खतिवडा, विशाल देवकोटा, गीत बिस्ट, डोरेश खतिवडा, उन्नत उप्रेती, र सुनिल खड्का रहेका छन्।
नाटकको सहनिर्देशन अनिरुद्ध आत्रेय र प्रकाश दाहालले गर्नुभएको हो भने, सङ्गीत तथा गायन विश्व काफ्लेको रहेको छ।
नृत्य निर्देशन दिव्या सेढाईले गरेको छन् भने, व्यवस्थापकीय भूमिकामा भूमिका खड्का, भेषभुषा डिजाइनमा यमुना गुरुङ, मञ्च परिकल्पना सङ्गीत सापकोटा, मञ्च निर्माणमा हुम बिसी र प्रकाश परिकल्पनामा आदित्य मिश्रले गरेका छन्।