उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले युवाहरू प्राविधिक, आर्थिक, राजनीतिक, पर्यावरणीय तथा सांस्कृतिक क्षेत्रमा नेतृत्वदाही तहमा पुगेको देख्न चाहेको बताएका छन्।
बुधवार काठमाडौँमा आयोजित नमुना संयुक्त राष्ट्रसङ्घीय अभ्यास कार्यक्रममा बोल्दै उनले युवा सहभागितालाई विश्वले निकै महत्त्व दिएको भन्दै नेपाली युवाहरू पनि विश्व मञ्चको नेतृत्वदाही तहमा पुगेको देख्न चाहेको बताए।
उनले भने, ‘यो युवाहरूको देश हो। युवाले नै बनाउनुपर्छ, त्यसैले युवासँग सिर्जनाको मुहान छ। सहाशिला पनि युवा नै हुन्छन् त्यसैले युवा सहभागितालाई विश्वले निकै महत्त्व दिएको पाइन्छ। हामी हाम्रा युवाहरू विश्व मञ्चमा प्राविधिक, आर्थिक, राजनीतिक, पर्यावरणीय तथा सांस्कृतिक क्षेत्रमा नेतृत्वदाही तहमा पुगेको देख्न चाहन्छौँ। यसको लागि युवाहरूको विकासको लागि अनुकूल वातावरण निर्माण गरी नीति निर्माणदेखि कार्यान्वयन तहसम्म संलग्न गराउने उद्देश्यले राष्ट्रिय युवा परिषद् स्थापना भएको छ र युवा केन्द्रित कार्यक्रमहरू पनि सञ्चालन हुँदै आएको छ।’
यस्तै, उनले हातहतियारको प्रयोग लगायतका सवालहरूमा युवा वर्गलाई सचेत गराउनुको साथै समस्या समाधानको लागि युवाबीच छलफल अन्तरक्रिया गर्न यो कार्यक्रम महत्त्वपूर्ण हुने विश्वास लिएको बताए।
सोही कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ऊर्जाशील युवा समूहलाई सकारात्मक भावनाका साथ राष्ट्र निर्माणमा लाग्नको लागि प्रेरणा र प्रोत्साहन गर्ने दायित्व सबैको भएको बताए।
उनले भने, ‘मुलुकको विकासमा युवा बलको भूमिका सधैँ महत्त्वपूर्ण र निर्णायक रही आएको छ। अहिले नेपालको कुल जनसङ्ख्यामा १६ देखि ४० वर्ष उमेर समूहका युवाहरूको अनुपातमा ४२ प्रतिशतभन्दा बढी रहेको छ। यो ऊर्जाशील समूहलाई सकारात्मक भावनाका साथ राष्ट्र निर्माणमा लाग्नको लागि प्रेरणा र प्रोत्साहन गर्ने दायित्व हामी सबैको हो। युवा वर्गको आकाङ्क्षा पूरा गर्न खेलकुद मन्त्रालय अन्तरगत राष्ट्रिय युवा परिषद्को स्थापना भएको हो।’