मुगुमा कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने उद्देश्यले हाते ट्याक्टर, थेसर मेसिन, कुटानी पिसानी मिललगायतका सामग्री वितरण गरिएको छ। 
स्याउ, सिमीलगायतका खेतीलाई यान्त्रीकरण गर्ने अभियान अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइले सक्रिय एवम् मझौला किसानलाई औजार वितरण गरेको हो। 
जस अन्तर्गत १८ वटा हाते ट्याक्टर,चार थान थेसर मेशिन, चार वटा कम्माइन मिल, दुई थान रैथाने कुटानी पिसानी मिल, ३० थान अन्न भण्डारका लागि सिडबिन, ४५थान आरालगायतका औजार वितरण गरिएको हो। 
ती औजारहरू कुल मूल्यको ५० प्रतिशत अनुदान र ५० प्रतिशत कृषकहरूको लगानीमा हाते ट्याक्टर र अन्य औजार ५० प्रतिशतमा छुटमा पाउँदा कृषकहरू खुसी भएका छन्। 
किसानको ५० प्रतिशत लागत सहभागितामा हाते ट्याक्टरलगायत अन्य औजार उपकरण कृषकहरूको घरघरमा ढुवानी गरी बिशेषगरी स्याउ र सिमी जोन क्षेत्रका कृषकहरूलाई लक्षित गरी आ.व २०८१।०८२को वार्षिक कार्यक्रम अनुसार व्यावसायिक, सामूहिक, कृषि फर्म र सहकारीमा आबद्ध किसानलाई यान्त्रीकरण सामानहरू सहयोग प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई मुगुका प्रमुख तेज विक्रम मल्लले बताए 
गाउँका युवा विदेशिएकाले कृषि क्षेत्रमा काम गर्ने मजदुर समेतको अभाव हुनुका साथै पछिल्लो समयमा गोरु पाल्न समेत कम हुँदै जाने भएकाले कृषिमा यान्त्रीकरण गर्दै लागत घट्ने र आम्दानी बढ्ने निश्चित भएको खत्याड गाउँपालिका वडा नम्बर ४ का  कृषक धन बहादुर थापाले बताए।