कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
प्रदेश प्रमुख पर्शुराम खापुङले सोमबार प्रदेश सभामा उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश सरकारले ‘स्वच्छ, सुखी र समुन्नत’ प्रदेश निर्माणलाई मूल लक्ष्य बनाएको स्पष्ट पारे।
प्रदेश सरकारले भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा प्रवाहको पारदर्शिता र प्रभावकारिता, र विधिको शासनलाई सुदृढ गर्ने विभिन्न रणनीतिहरू अघि सारेको छ। मुख्यमन्त्री ड्यासबोर्ड सुधार, गुनासो सुनुवाइ प्रणाली सशक्तीकरण, र कर्मचारी मनोबल अभिवृद्धिका कार्यक्रमहरू पनि प्राथमिकतामा छन्।
प्रदेशभर सडक, पुल, झोलुङ्गे पुल, भवन, खानेपानी र सिँचाइ पूर्वाधार निर्माणमा तीव्रता दिइनेछ। प्रादेशिक सडक सञ्जाल गुरुयोजना र सौर्य÷जलविद्युत परियोजनामा लगानी बढाइने नीति कार्यक्रममा उल्लेख रहेको छ। रैथाने बालीको संरक्षण, उन्नत बीउ प्रवर्द्धन, जैविक खेतीमा जोड, पशुपन्छीका रोग नियन्त्रण, वनजन्य उद्योग प्रवर्द्धन, जडीबुटी व्यवसायीकरण र सहरी वन विकासलाई विशेष प्राथमिकता दिइएको छ।
सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार सुधार, नमुना विद्यालयका रूपमा धनकुटा आवासीय विद्यालय विकास, महिला र बालबालिकाको पोषण, स्वास्थ्य पहुँच तथा स्वास्थ्य विमामा जोड, हृदयरोग अस्पताल, आयुर्वेद अस्पताल र मोबाइल अस्पताल सेवा विस्तार गरिने उल्लेअ गरिएको छ।
उद्यमशीलताको प्रवर्द्धन, स्टार्टअप कार्यक्रम, एक निर्वाचन क्षेत्र एक विशेष उद्यम कार्यक्रम, र युवा लक्षित सूचना प्रविधि आधारित रोजगारी योजनाहरू अघि सारिएका छन्। साना तथा मझौला उद्यममा पहुँचका लागि बैंकिङ सहजीकरण गरिनेछ।
वातावरणीय प्रभाव मूल्याङ्कन, हरियाली विस्तार, चुरे संरक्षण, नदीजन्य पदार्थको व्यवस्थापन, र हरित ऊर्जा प्रवर्द्धन योजनाहरू समावेश छन्। कोशी पर्यटन वर्ष २०८२ मा पदमार्ग, धार्मिक स्थल, प्राकृतिक र ऐतिहासिक क्षेत्रहरूमा लगानी बढाइनेछ। कोशी र खुवालुङ क्षेत्रको विशेष विकास योजना अघि बढाइनेछ उल्लेख गरिएको छ। प्रदेश सरकारले यस कार्यक्रमलाई नागरिकको विश्वास जित्ने साधन बनाउने प्रतिबद्धता जनाएको छ। भने संक्षिप्त प्रतिक्रियाहरू जनाउँदै विपक्षीहरूले कार्यक्रम कर्मकाण्डी रूपमा प्रस्तुत भएको जनाएका छन्।
सोमबार सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि मङ्गलवारबाट सभामा छलफल सुरु हुने प्रदेश सभा सचिवालयले जनाएको छ।