खानेपानीमन्त्री प्रदीप यादवले सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण कार्यको शुभारम्भ गरेका छन्। 
सोमबार एक कार्यक्रमकाबीच मन्त्री यादवले सिंहदरबार भित्र मेलम्चीको शुद्ध, सुरक्षित खानेपानी वितरण कार्यको शुभारम्भ गरेका हुन्।
आजबाट विधिवत् रूपमा शुभारम्भ गरिएको मेलम्चीको पानी अब यहाँका सबै मन्त्रालय एवं कार्यालयहरूमा वितरण गरिने मन्त्री यादवले बताए। 
उनले भने, ‘आजबाट सिंहदरबारमा विधिवतरुपमा मेलम्चीको पानी आएको छ। यसभन्दा पहिले भूमिगतको पानी सिंहदरबारमा आएको थियो। अब यहाँ मेलम्चीको शुद्ध र सुरक्षित खानेपानी वितरण हुनेछ।’
यसैगरी मन्त्री यादवले मेलम्चीको पानी वितरण सुरु भएपछि अबदेखि सिंहदरबार क्षेत्रभित्र प्रयोग हुँदै आएको जार र बोतलको पानी विस्थापित गरिने बताए। 
उनले भने, ‘सिंहदरबारमा मेलम्ची खानेपानी वितरण कार्यको विधिवत् रूपमा शुभारम्भ गरेको छु। अब जार र बोतलको पानी विस्थापित हुन्छ।’
सिंहदरबारभित्र रहेका सम्पूर्ण मन्त्रालयहरू तथा कार्यालयहरूमा मेलम्चीको शुद्ध र सुरक्षित खानेपानी र्पुयाउनका लागि पाइप लाइनको विस्तार गरिने समेत मन्त्री यादवले जानकारी दिए। 
उक्त कार्यक्रममा मन्त्रालयका सचिव ई प्रमिलदेबी शाक्य बज्राचार्य, सहसचिव ई।मिना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.रामकुमार श्रेष्ठ, केयुकेएलका प्रमुख अशोक पौडेल लगायतको सहभागिता रहेको थियो।