गृहमन्त्री रमेश लेखकले कुनैपनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने बताएका छन्। 
सोमबार प्रतिनिधि सभाको बैठकमा जवाफ दिँदै गृहमन्त्री लेखकले हिंसात्मक घटनालाई धर्मका आवरणमा उन्मुक्ति दिन नमिल्ने धारणा अभिव्यक्त गरेका हुन्। 
‘कुनै धर्म उत्कृष्ट र कुनै कम उत्कृष्ट भन्ने मेरो आशय होइन, तीनकुने घटनामा भएको आगजनी र हिंसा अपराध कर्म भएकाले उक्त कार्यलाई कुनै पनि धर्म वा आस्थासँग जोडेर हेर्न नमिल्ने ब्यहोरा अनुरोध गर्दछु,’ गृहमन्त्री लेखकले भने, ‘हिन्दु धर्मले अहिंसा, शान्ति र बन्धुत्वमा विश्वास गर्छ त्यो दर्शन र आदर्श तीनकुनेमा देखिएन। त्यसैले, हिंसालाई धर्मसँग जोड्न सकिँदैन। तीनकुनेमा गरिएको राजतन्त्रको वकालतको विषय नेपालको संविधान विपरीत छ जसलाई कुनैपनि विषयमा उचित मान्न सकिँदैन।’
उनले उक्त घटनामा संलग्नहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र अभियोजनको कार्य भइरहेको जानकारी दिए। ‘जो सुकै भए पनि आपराधिक कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याइने समेत प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।’ उनले भने। 
मन्त्री लेखकले उक्त घटनामा एभिन्यूज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको प्रदर्शनकारीले एक निजी घरमा लगाएको आगोमा जलेर निधन भएको र अर्का व्यक्ति सविन महर्जनको हिंसात्मक प्रदर्शन नियन्त्रण गर्ने क्रममा गोली लागेर निधन भएको बताए।  
साथै, उक्त तोडफोड र आगजनीमा संलग्नहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र अभियोजनको कार्य भइरहेको मन्त्री लेखकले जानकारी दिए।