उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले पूर्वाधारलाई गुणस्तर बनाउन आवश्यक रहेको बताएका छन्।
सोमबार काठमाडौँमा आयोजित नेपाल सिमेन्ट उत्पादन सङ्घले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपाल सरकारको पुँजीगत तर्फबाट सबैभन्दा बढी बजेटको माग र खर्च गर्ने क्षेत्र सडक पूर्वाधार भएतापनि अगाडि बनाउँदै जाने र पछाडि भत्कँदै जाने समस्या रहेको बताए।
उनले भने,‘अहिले हामी सिमेन्टमा आत्मनिर्भर छौँ। स्रोत, साधन थोरै आयात गर्नुपर्ने र धेरै आन्तरिक स्रोतबाट यसलाई विकासको नयाँ गति दिन सकिन्छ। सरकारको पुँजीगत तर्फबाट सबैभन्दा बढी बजेटको माग भएको र खर्च गर्ने क्षेत्र सडक पूर्वाधार भएको छ। तर भइराखेको के छ भने अगाडि बनाउँदै जाने र पछाडि भत्किँदै जाने समस्या छ। गुणस्तर भएन, पूर्वाधारलाई गुणस्तर बनाउन आवश्यक छ। सुरक्षित यात्रा गर्नको लागि पनि व्यवस्थित सडक सञ्जाल, पूर्वाधार जरुरी छ।’
त्यस्तै उनले आफ्नै बल र स्रोत साधनबाट अबको विकासलाई एउटा भरपर्दो विकास दिन सकिने धारणा राखे। आफ्नै देशको स्रोत साधनको अधिकतम प्रयोग हुने गरी काम गर्नुपर्ने उनको भनाइ छ।
उनले भने,‘हामीले आत्मनिर्भरता एवम् आफ्नै बल र स्रोतका साधनबाट अबको विकासलाई एउटा भरपर्दो विकास दिन सक्छौँ। वातावरणमैत्री विकास दिन सक्छौँ र यो यात्रामा हामी सबै सँगै हिँड्न सक्छौँ। त्यसैले मन्त्रालय, निकाय र विभागहरूले आफैँले व्यवस्थित छलफल गरेर निष्कर्ष निकाल्न जरुरी छ। जसका कारण विकासको यात्रा अगाडि बढ्छ। र अधिकतम स्रोत साधनको पनि प्रयोग पनि हुन्छ।’
त्यस्तै सोही कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मानिसहरूमा सडक नै विकास हो भन्ने बुझाइ रहेको बताए। केही मानिसहरूले केही पनि भएको छैन भन्ने निराशा मात्र बाँडिरहेको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको उनको भनाइ छ।
उनले भने,‘मानिसहरूमा सडक नै विकास हो भन्ने बुझाइ छ। भौतिक प्रगतिको हिसाबले नेपाल अरू देश भन्दा पछाडि छैन। केही मानिसहरूले केही पनि भएको छैन, केही पनि हुँदैन भनेर निराशा मात्र बाँडिरहेको छन्। त्यसैले त्यसलाई चिर्न पर्नेछ।’