महिला टी–२० विश्वकपको एसिया छनोटमा युएईलाई पराजित गर्दै नेपाल पहिलो पटक ग्लोबल छनोटमा प्रवेश गरेको छ।
आज भएको सुपर–३ अन्तर्गतको खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपालले एक खेल अगावै शीर्ष दुईमा रहँदै ग्लोबल छनोटमा प्रवेश गरेको हो।
यो जितपछि नेपाल र थाइल्यान्ड एसियाबाट ग्लोबल छनोटमा पुग्न सफल भए ।नेपालले अब मङ्गलवार औपचारिकताका लागि अन्तिम खेल थाइल्यान्डविरुद्ध खेल्दै छ। नेपाली महिला टोली पहिलो पटक ग्लोबल छनोटको यात्रा गर्न सफल भएको हो।
नेपालले विश्वकपमा पुग्न अन्तिम चरणको छनोट खेल्न बाँकी छ। छनोटमा १० देशबीच प्रतिस्पर्धा हुनेछ। ती १० देशबाट शीर्ष चार देश विश्वकपमा पुग्नेछन्।
पहिले ब्याटिङमा आएको युएईले दिएको ११५ रनको सामान्य चुनौतीलाई नेपालले अन्तिम तीन बल बाँकी हुँदा भेट्टायो। त्यस क्रममा अविजित रहेकी नेपाली कप्तान इन्दु बर्माले ३० रनको योगदान गरिन्।
उता रुविना क्षेत्री बेलबासेले १८ बलमा २३ रन बनाइन्। नेपालका लागि ओपनर सम्झना खड्का २१ र उपकप्तान पूजा महतो १३ रन बनाउँदै आउट भए।
पराजित युएईका मेचेली बोथा, सुरक्षा कोत्ते, भैश्नवी महेश र ईशा ओझाले १र१ विकेट झारे। बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ७ विकेट क्षतिमा ११४ रन जोडेको थियो।