सत्तारुढ नेपाली कांग्रेसले मधेस प्रदेश सरकारको पूर्वाग्रहीका कारण स्वास्थ्य क्षेत्रको संवेदनशीलतालाई ख्याल नगरेको भन्दै मुख्यमन्त्री र  स्वास्थ्य तथा जनसंख्यामन्त्रीको ध्यानाकर्षण गराएको छ।
नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका उपनेता वीरेन्द्र प्रसाद सिंहले मुख्यमन्त्री सतीशकुमार सिंह र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रु धन प्रसाद सिंहलाई ज्ञापन पत्र बुझाउँदै तत्काल अस्पताल सञ्चालनका लागि काम अघि बढाउन मागसहित ध्यानाकर्षण गराएका छन्।
प्रदेश सरकारले २०८० मङ्सिर १८ गतेको मन्त्रिपरिषद् बैठकबाट ६ वटा जिल्ला अस्पताललाई १०० शैय्याको बनाउने र ५ वटा ५० शैय्याका नयाँ अस्पताल सञ्चालन गर्ने निर्णय गरे पनि सो निर्णय कार्यान्वयन गर्न पूर्वमन्त्रीसमेत रहेका उपनेता वीरेन्द्र प्रसाद सिंहले माग गरेका छन्। सो निर्णय अनुसार आवश्यक जनशक्तिका लागि अस्थायी दरबन्दी स्वीकृत गरी विज्ञापनमार्फत कर्मचारी छनोट प्रक्रिया समेत पूरा हुँदा पनि अस्पताल सञ्चालनका लागि चासो नदिएको उनको आरोप छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको लापरबाही र अस्पताल सञ्चालन नगर्ने नियतका कारण अहिलेसम्म सो अस्पतालहरू सञ्चालनमा आउन नसकेको उनको दाबी छ।
सो ज्ञापन पत्रमा उपनेता सिंहले, ‘दरबन्दीअनुसारको जनशक्ति सम्बन्धित अस्पतालहरूमा खटाई यथाशीघ्र ती अस्पताल सञ्चालन गरिनुपर्छ ।’ यस साथै उनले मन्त्रालयले देखाएको लापरबाहीको कारण स्वास्थ्य सेवाबाट वञ्चित भएका नागरिकको हकमा गम्भीर अन्याय भएको उल्लेख गरेका छन्।
सञ्चालनमा नआएका ती अस्पतालहरूका कारण दूर दराजका जिल्लाहरूमा स्वास्थ्य सेवा पहुँचमा समस्या भइरहेको भन्दै सरोकारवालाहरूले तत्काल गम्भीर हुन प्रदेश सरकारसँग कांग्रेसले आग्रह गरेको छ।