गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनाको निष्पक्ष छानबिन र बिना कारण पक्राऊ परेकाहरूको रिहाइको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दबाबमूलक प्रदर्शन गरेको छ।
शुक्रवार राप्रपाले तीनकुने घटनाको निष्पक्ष छानबिन गर्न राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डा. धवल शमशेर राणालगायत बन्दीहरू रिहाइ, मृतकहरूलाई शहीद घोषणालगायतका माग राखेर दबाबमूलक प्रदर्शन गरेका हुन्।
प्रदर्शनपछिको सभामा बोल्दै राप्रपाका नेता प्रकाश चन्द्र लोहनीले देशमा सुशासनका नाममा दुशासकहरु बढेको बताए। उनले सत्तामा बसेकाहरूले जनता बेचेको आरोप पनि लगाए।
उनले भने, ‘यो राष्ट्रमा सुशासन होइन कुशासन बढेको छ। दुशासकहरु धेरै बढेका छन्। जसले गर्दा अर्बौँ रुपैयाँ नेपाली जनता ठगिएका छन्। नेपालीहरूलाई विदेशी बनाएर सत्तामा बस्नेले बेचेका छन्।’
उनले प्रजातन्त्रको नाममा राष्ट्रको सम्पत्तिको दुरुपयोग गरिरहेको पनि बताए।
‘प्रजातन्त्र भनेको गरिब जनताको हित गर्ने हो। त्यहाँ भुई मान्छेको हित गर्ने हो तर त्यो नभएर सीमित व्यक्तिको नाममा राष्ट्रको सम्पत्तिको दुरुपयोग भएको छ। प्रजातन्त्रको नाममा यसो गर्न पाइँदैन,’ उनले भने।
प्रदर्शन काठमाडौँको सुन्धारादेखि शान्तिबाटिकासम्म पुगेर कोणसभामा परिणत भएको थियो।
प्रदर्शनकारीहरूले सरकारको विरोधमा नाराबाजी गर्दै झुटा मुद्दा खारेज हुनुपर्ने, राज्य आतङ्क बन्द गरिनुपर्ने, निष्पक्ष न्यायिक आयोग गठन गर्नुपर्ने, नागरिक स्वतन्त्रता कायम गर्नुपर्नेलगायतका माग गरेका छन्।




















