शुक्रवार बसेको अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा छलफल गरिएको छ। बैठकमा अर्थ मन्त्रालयसँग बजेटका सम्बन्धमा छलफल भएको हो।
छलफलमा बोल्दै पूर्वअर्थमन्त्री डा. प्रकाश शरण महतले वैदेशिक ऋण ३० प्रतिशतले बढाउने भन्ने कुरा विश्वास गर्ने कसरी भन्दै प्रश्न गरे। उनले विदेशी अनुदान नै २२.९ प्रतिशतले बढाउने भने पनि हिजो त्यो अनुसारको प्रतिफल प्राप्त गर्न नसकेकाले असम्भव जस्तै भएको बताए।
उनले भने, ‘अनुदान नै २२.९ प्रतिशतले बढाउने भन्या छौँ। वैदेशिक ऋण ३० प्रतिशतले बढाउने भन्या छौँ। जब की हामीले हिजो त्यो अनुसारको प्रतिफल प्राप्त गरेकै छैनौँ। अब यत्रो ठुलो वृद्धि हुन्छ भनेर विश्वास गर्ने कसरी ? यो सम्भव नै छैन।’
साथै उनले अहिले जुन अन्तर्राष्ट्रिय परिवेश छ त्यसले अर्थतन्त्रमा थप जटिलता थपेको बताए। उनले १९ खर्व प्लसको बजेट प्रस्तुत गरिएको छ त्यो विदेशी सहयोग यत्रो ठुलो मात्रामा बढ्ने कुनै सम्भावना नरहेको बताए।
‘वैदेशिक अनुदान नै २२.९ प्रतिशत बढ्छ भनेर अहिले जुन बजेट प्रस्ताव गर्नु भएको छ। १९ खर्व प्लसको बजेट प्रस्तुत गर्नु भएको छ। अब राजश्व चाहिँ १०.३ प्रतिशत र आन्तरिक ऋण ८.३ प्रतिशतले बढाउने भन्नु भएको छ। अब विदेशी सहयोग यत्रो ठुलो मात्रामा बढ्ने कुनै सम्भावना छैन,’ उनले भने।
छलफलमा पूर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, सांसद ज्ञानेन्द्र शाही, सूर्य बहादुर थापालगायतले धारणा राखेका थिए।




















