इलामको रोङ गाउँपालिकाले ‘गुरु किसान’ घोषणा गरिएको छ। गाउँपालिकाले एक समारोहका बिच ‘गुरु किसान’ घोषणा गरिएको हो। 
गाउँपालिका भित्रका करिब पाँच हजार किसानहरूबाट अगुवा किसान छनौट गरिएको छ। छनौट भएका किसानलाई ‘गुरु किसान’ घोषणा गरिएको हो। 
बुधवार गाउँपालिका ५ मा स्थापना भएको कृषि प्रशोधन उद्योगको उद्घाटनसँगै छनौट भएका एक सय २१  गुरु किसानलाई गाउँपालिकाले मागमा आधारित सेवाटेवा प्रधान गर्ने घोषणा गरिएको छ। 
गाउँपालिका भित्र रहेका करिब चार हजार पाँच सय किसान मध्ये पहिलो चरणमा एक सय २१ किसान छनौट गरिएको गाउँपालिकाले जानकारी दिएको छ। 
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, तथा कोशी प्रदेश उद्योग कृषि तथा सहकारी विकास मन्त्री खगेन सिंग लिम्बू र गाउँपालिका अध्यक्षले गुरु किसान घोषणा तथा कृषि प्रशोधन उद्योगको उद्घाटन गरेका हुन्। कृषि पेसालाई सम्मानित पेसाका रूपमा विकास गर्न र उत्पादनमा प्रतिस्पर्धा गराउन गुरु किसान छनौट पालिकाले जनाएको छ। गुरु किसान परिचय पत्र वितरण समेत गरिएको छ। थोरै क्षेत्रफलमा धेरै उत्पादन गर्ने किसानलाई गुरु किसानका रूपमा छनौट गरिएको गाउँपालिकाले जनाएको छ। 
गाउँपालिका भित्रका ६ वटै वडाका किसान छनौट गरेर वडा स्तरीय अभिमुखीकरण समेत प्रदान गरिएको छ। पालिका छनौट भएका ‘गुरु किसान’ ले गाउँमा आइपरेका कृषिका समस्या समाधान गर्न समेत भूमिका खेल्ने पालिकाको कृषि सेवा शाखाले जनाएको छ।  
पहिलो चरणमा एक सय २१ जना किसानलाई गुरु किसान छनौट गरिएको छ। क्रमशः गुरु कृषक थप  गर्दै लैजाने गाउँपालिकाको लक्ष रहेको गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास) ले जानकारी दिए। उनले अनुसार गुरु किसान व्यवस्थापन कार्यविधि २०८० जारी भएको छ। सोही अनुरूप कार्यक्रम अगाडी बढाइएको हो। गाउँपालिकाका कम्तीमा तीन सय गुरु किसान प्रवर्द्धन गर्ने लक्ष रहेको जनाइएको छ। 
‘उत्पादन, प्रशोधन र बजारको तीन खम्बे रणनीति लिइएको छ।’ गाउँपालिका अध्यक्ष स्याङ्बोले भने। प्रशोधनमा निजी क्षेत्रलाई प्रवर्धन गर्ने लक्ष लिइएको छ। 
सङ्घीय सरकार अन्तर्गत योजना आयोगको पाँच करोड विशेष अनुदानबाट तीन वटा उद्योग स्थापना गर्न लागिएको छ । सबैभन्दा पहिला स्थापना भएको कृषि प्रशोधन उद्योगको पनि उद्घाटन गरिएको छ। अन्य दुई वटा उद्योग निर्माणाधीन अवस्थामा रहेका छन्।   
सङ्घीय सरकारको अनुदानबाट करिब ७० लाख लागतमा कृषि प्रशोधन उद्योगको भवन निर्माण गरिएको छ। त्यस्तै करिब ४० लाख लागतमा औजार खरिद गरिएको गाउँपालिकाका लेखा अधिकृत मनिस भट्टराईले जानकारी दिए। 
यहाँका ब्यवसायिक र निश्चित मापदण्ड पुरा गर्ने किसानहरूबाट गुरु किसान छनौट गरिएको हो। 
कृषि पेसाबाट किसान पलायन हुन नदिन यो कार्यक्रम ल्याइएको हो। गाउँपालिकामा विशेष गरेर अलैँची, चिया, कफी, अदुवा, सुपारी, बेसार, सुन्तला उत्पादन हुन्छ। गाउँपालिकाले रोङ गुन्द्रुक, रोङ मह, रोङ बेसार, रोङ तिते करेला ब्राण्डिङ गरेर बजारीकरण गरिरहेको छ। त्यस्तै गाउँपालिकाले सिस्नोको चिया समेत उत्पादन गर्दै आएको छ।