जनप्रतिनिधि, राजनीतिक दलका नेतादेखि लिएर प्रहरी प्रशासन र पत्रकारहरुलाई समेत सामाजिक सञ्जालमा मनपरी अश्लिल गाली गर्दै आएका झापा हल्दिवारी– १ का २३ वर्षीय नितेश भनिने नवराज ओलीलाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई चैत ३ गते काठमाण्डौको सोह्रखुट्टेबाट प्रहरीले पक्राउ गरी झापा ल्याएको छ। विदेशमा बसेर उनले झापाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेतादेखि लिएर प्रहरी प्रशासन र पत्रकारहरुलाई समेत सामाजिक सञ्जालको दुरुपयोग गर्दै गालीगलौच गर्ने, चरित्र हत्या गर्ने, विभिन्न आरोप लगाउने गरेका थिए।

नेपाल फर्केपछि उनलाई भेट्न हल्दिवारी १ स्थित घरमा गत फागुन ३ गते प्रहरी टोली पुगेको थियो। प्रहरीलाई समेत उनले जथाभावी अश्लील गालीगलौच गरेका थिए।

सो उजुरीका आधारमा पक्राउ परेका ओलीलाई ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले जानकारी दिए। उनलाई फौजदारी अपराध संहिता २०७४ अन्तर्गत अभद्र व्यवहार कसूरमा मुद्धा चलाइने डीएसपी खड्काले जानकारी दिए।