स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना जारी छ। मोरङका कतिपय क्याम्पसको नतिजा सार्वजनिक भइसकेको छ। विराटनगरको महेन्द्र मोरङसहित अधिकांश क्याम्पसमा अखिल क्रान्तिकारीले अग्रता लिएको छ।
जिल्लाका तीन आंगिक र आठ सामुदायिक क्याम्पसमा मंगलबार निर्वाचन भएको हो। नौवटा क्याम्पसको मत परिणाम सार्वजनिक भएको छ।
जसमा चार क्याम्पसमा अखिल क्रान्तिकारी विजयी भएको छ। तीनमा नेविसंघ र दुई क्याम्पसमा अनेरास्ववियु विजयी भएका छन्।
रमाइलो क्याम्पसको अध्यक्षमा अखिल क्रान्तिकारीका अनिष कार्की, मिक्लाजुङ क्याम्पसमा सुजन घिमिरेको प्यानल, विराटनगरको डिग्री क्याम्पसमा प्रितम साहको प्यानल र विराट नर्सिङ कलेजमा क्रान्तिकारीकै रोहितकुमार ताजपुरिया निर्वाचित भएका छन्।
त्यस्तै, केराबारीस्थित खदम क्याम्पसको अध्यक्षमा अनेरास्ववियुका संगम कन्दङ्वा, सुकुना क्याम्पसको अध्यक्षमा अखिल गठबन्धनका एलिस ओझा विजयी भएका छन्। सचिवमा पनि गठबन्धनका रोहन खत्री र कोषाध्यक्षमा नेविसंघकी सविना थापा विजयी भएकी छन्।
उता, क्याम्पसको अध्यक्षमा नेविसंघका पोषण आचार्य, पथरी बहुमुखी क्याम्पसको अध्यक्षमा नेविसंघका केशर राई, लेटाङ क्याम्पसको अध्यक्ष नेविसंघका लेखनाथ दाहाल निर्वाचित भएका छन्।

महेन्द्र मोरङ क्याम्पसको पछिल्लो मत परिणामअनुसार त्यहाँ पनि अखिल क्रान्तिकारीले अग्रता लिएको छ। त्यहाँ अघिल्लो निर्वाचनमा नेविसंघ विजयी भएको थियो। यसपटक संस्थापन र शेखर कोइराला पक्ष अलगअलग प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए।