कोभिड महामारीपछि थलिएको पूर्वी नेपालको पर्यटनलाई उकास्ने उद्देश्यले इटहरीमा तीन दिने इस्टर्न टुरिजम मार्टको हुने भएको छ। 

नेपाल पर्यटन बोर्ड, कोशी प्रदेश र इटहरी उपमहानगरपालिकाले आयोजना गरेको उक्त पर्यटन मेलामा भारतका तीन प्रदेश बङ्गाल, विहार र सिक्किम र भुटानका गरी एक सय बढी पर्यटन व्यवसायी, पत्रकार र पर्यटनकर्मी सहभागी हुने मेला आयोजक समितिका अध्यक्ष देवी गौतमले जानकारी दिए।

उनका अनुसार कोशी प्रदेश सरकारले भ्रमण वर्ष २०८२ मनाउने तयारी गरिरहँदा मार्टले पर्यटनको प्रवर्द्धन गर्नेछ। मार्टमा कोशी प्रदेशभर रहेका पर्यटकीय गन्तव्यबारे जानकारी दिने एक सय ५० वटा स्टल राखिनेछन्।

इटहरीको सोल्टी होटेलमा हुने मार्टको उद्घाटन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नेछन्। कोशी प्रदेशबाट पर्यटन व्यवसायी, ग्रामीण पर्यटनकर्मी र धार्मिक पर्यटन क्षेत्रका संस्थाहरूबाट पर्यटन सम्बद्ध स्टलमार्फत् समग्र कोशी प्रदेशको सम्भावना उजागर हुने आयोजक समितिका सचिव वासुदेव बरालले जानकारी दिए। 

उनका अनुसार फागुन २६ गते धरान, भेडेटार, वराहक्षेत्र, कोशीटप्पु, रामधुनी लगायतका स्थानहरूको भ्रमण कार्यक्रम रहको छ। कार्यक्रममा चौधरी समुदायको घर र पहाडी समुदायको घर आकर्षणको रूपमा रहने छ। 

यसका साथै पूर्वको पर्यटन पूर्वाधारमा ठुलो लगानी गर्ने व्यवसायीहरूलाई पर्यटन अवार्डद्वारा सम्मान गर्ने कार्यक्रम समेत रहेको आयोजकले जानकारी दिएको छ। 

आयोजकका अनुसार तीन दिनसम्म चल्ने कार्यक्रममा करिब ६० लाख खर्च हुनेछ। नेपाल पर्यटन बोर्ड, कोशी प्रदेश र इटहरी उपमहानगरपालिकाले आधा खर्च बेहोर्ने छ भने बाँकी खर्च निजी क्षेत्रले बेहोर्ने सहमति छ।