स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले रौतहटको गौर नगरपालिकाका मेयर शम्भु साहलाई नामुद तस्करको संज्ञा दिएका छन्।
शुक्रवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मेयर साहको विगत पनि नराम्रो रहेको र अहिले पनि सरकारी स्वामित्वमा आउनुपर्ने जग्गामा चलखेल गरिरहेको बताएका हुन्।
उनले भने, ‘अहिले रौतहटको सदरमुकाम गौरमा आगो बलिरहेको छ। आगो बल्नुको कारण त्यहाँका मेयर हुन्। जो पहिला नामुद तस्कर थिए र छन्। हाम्रो राजनीतिले तस्कर, बिचौलियालाई नेता बनाउन खोज्यो र उसले आफ्नो पुरानो पेसा कहिले पनि छाड्न चाहेन। २०१० सालमा आजभन्दा ७१ वर्ष पहिला भारतीय नागरिकले गौरमा राइस मिल खोले। गौरमा ६ बिघा जग्गा पनि छ। त्यो भारतीय नागरिक निःसन्तान थियो। पछि यही मेयरले २०५७ सालमा मिलको पार्टपुर्जा बेच्न लाग्दा प्रहरीले समात्यो। अहिले त्यही मेयरको मिलेमतोमा नक्कली भारतीयलाई खडा गरेर पर्साबाट नागरिकता दिलाएर, मोहियानी हक कायम गराएर, जग्गामा चलखेल गर्न खोजिरहेको छ।’
साथै उनले राइस मिलको छ बिघा जग्गामा मेयर साहले आँखा लगाइरहेको बताए। उनले भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाएर नक्कली मोही खडा गरी त्यसमा चलखेल भइरहेको बताए।