मुगु लगायत कर्णाली प्रदेशमा लामो समयपछि पानी पर्दा किसान हिउँदे अन्न बाली राम्रो हुने भन्दै खुसी भएका छन्। लामो समयपछि बिहीबारबाट वर्षा हुँदा किसानहरू निकै  खुसी भएका हुन्।
मुगु लगायत आसपासका जिल्लाहरूमा बिहान ४ बजेबाट पानी परेसँगै मौसम अन्धकार बनेको छ। यससँगै जिल्लामा बिद्युत् सेवा पनि अवरुद्ध भएको छ। लामो समय पछि पानी पर्दा बाँझो जमिन खनजोत गर्न तथा कार्तिके बाली कोदो, मकै छर्नका लागि खेतबारीमा हलो लगाउन सजिलो हुने छायानाथ रारा नगरपालिका वडा नं ५ का किसान दिनेश मल्लले  बताएका छन्। 
मुगु जिल्ला आकासे पानीको सिँचाइले फलफूल खेती र तरकारी उत्पादनमा निर्भर हुने जिल्ला भएकोले कृषकहरूले स्याउ, ओखर, आरुलगायतका बिरुवा लगाउन निकै समस्या भएको थियो। गए रातिबाट पानी पर्दा अब कृषकहरूलाई फलफूलका बिरुवा लगाउन सहज हुने भएकोले खुसी भएको फलफूल कृषक मणिचन्द भामले बताएका छन्। 
कृषक भामका अनुसार पानी परेपछि मुगुका थुप्रै ठाउँमा भइरहेको आगलागी समेत नियन्त्रणमा आउने बताएका छन्। 
लामो समय देखि पानी  नपरेपछि यो वर्ष हिउँदे खेतीमा नराम्रो असर परेको अब केही सुधार हुँदै जाने छ भने बर्खे खेती र फलफूल खेती गर्ने कृषकहरूलाई राम्रो हुने भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ मुगुका प्रमुख तेज विक्रम मल्लले बताए।