झापा र मोरङका विभिन्न स्थानहरूबाट प्रतिबन्धित लागुऔषधसहित ७ जना पक्राउ परेका छन्।

फागुन १५ गते लागुऔषध नियन्त्रण ब्यूरो काकरभिट्टा र मेची बिट झापाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले भारतबाट भद्रपुरतर्फ आउँदै गरेका झापा अर्जुनधरा नगरपालिका-५ का २२ वर्षीय प्रेमा तामाङलाई नियन्त्रणमा लिएको हो। ​उनको साथबाट लागुऔषध ब्राउनसुगर १ ग्राम १ मिलिग्राम बरामद भएको छ।

यसैगरी, भद्रपुर नगरपालिका-९ का २६ वर्षीय दीपेन्द्र खापुङ्लाई ब्राउनसुगर १ ग्राम १३ मिलिग्राम, दमक नगरपालिका-४ का २३ वर्षीय संजित राईलाई ब्राउनसुगर २ ग्राम २८ मिलिग्राम, इलामको माई नगरपालिका-१ का २६ वर्षीय रोमन श्रेष्ठ र ४६ वर्षीय कृष्ण बहादुरलाई लागुऔषध ब्राउनसुगर १ ग्राम ५७ मिलिग्रामसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

फागुन १५ गते इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-७ पशुहाटस्थितबाट झापा कमल गाउँपालिका-३ का २४ वर्षीय समर लिम्बूको साथबाट प्रतिबन्धित औषधि ५० पिस फेला पारी नियन्त्रणमा लिएको हो।