स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्यको गुणस्तरमा कहीँ कतै सम्झौता नगर्ने बताएका छन्।
मङ्गलवार काठमाडौँमा आयोजित नेपाल मेडिकल कलेजको २५ औँ वार्षिकोत्सव समारोहमा उनले उपचार पद्धतिमा गुणस्तरको कुरा आउन नहुने भन्दै गुणस्तरीयतामा कहीँ कतै सम्झौता नहुने गरी यसको क्षमता जति छ त्यति जनशक्ति उत्पादन गर्ने स्वीकृति दिनुपर्ने बताए।
उनले भने, ‘खासगरि स्वास्थ्यमा गुणस्तरीयता भन्ने शब्द प्रयोग गर्नै नपर्ने हो। स्वास्थ्य गुणस्तर हीन हुनै सक्दैन। हामी गुणस्तरीय औषधी भन्छौ, गुणस्तर हीन औषधी कस्तो हुन्छ पिठोको डल्लो, त्यस कारण यो हाम्रो भाष्य जुन छ यो धेरै दर्दनाक छ। स्वास्थ्य कहिले पनि गुणस्तर हीन हुन सक्दैनन् । उपचार पद्धतिमा नै गुणस्तरको कुरा गर्नुपर्ने अवस्था भएपछि यहाँ समस्या छ भन्ने कुरा बुझ्नु पर्छ। त्यस कारण गुणस्तरीयतामा कहीँ कतै सम्झौता नहुने गरी यसको क्षमता जति छ त्यति जनशक्ति उत्पादन गर्ने स्वीकृति दिनुपर्छ।’
यसको साथै, उनले स्वास्थ्य क्षेत्रमा धेरै विकास भए पनि नागरिकको अनुभूतिमा विकास भएको महसुस हुन नसकेको बताए।
उनले भने, ‘हामी थुप्रै राजनीतिक दलले समाजवादको कुरा गर्छौ। आम नागरिकले उपचारमा सर्वसुलभता, सन्तुष्ट हुन पाउने गरी उपचार सेवा, सस्तो र नसक्नेले निशूल्क सेवा लिन सक्ने अवस्था बनेको छ त यस्ता ठुला संरचनाहरू बनेको छ, स्वास्थ्य क्षेत्रमा धेरै विकास भएको छ। तर नागरिकको अनुभूतिमा विकास भएको महसुस हुन सकेको छैन। यसको लागि मैले भन्दै आएको कुरा बिमालाई व्यवस्थित गरौँ।’