प्रधानमन्त्री केपी शर्मा ओलीले औषधी विज्ञानलाई कमाई खाने भाँडो बनाइएको बताएका छन्। 
मङ्गलवार जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले औषधी विज्ञानलाई कमाई खाने भाँडो बनाइएको कारण आयुर्वेद वैद्य बाहेक अरूले जान्दैनन् भन्ने बाहाना बनाइएको बताएका हुन्। 
उनले भने, ‘औषधी विज्ञानलाई कमाई खाने भाँडो बनाइयो त्यसलाई प्रचारको विषय बनाइएन। त्यसैले आयुर्वेद वैद्य बाहेक अरूले जान्दैनन् मात्रा मिलेन भने तल माथि पर्न सक्छ भन्ने बाहाना बनाइयो। यो गोप्य राखियो र आफ्ना सन्तानले कमाएर खाउन भनेर सन्तानलाई मात्रै सिकाउने र वैद्यको छोरालाई मात्र वैद्य बनाउने, यस प्रकारको चलन चल्यो जसले गर्दा हामी सन्तानमा खुम्चिऔँ।’
अहिले पनि साढे ५४ लाख तिरेर सरकारले विद्यार्थी पढाइराखेको भन्दै स्वास्थ्य क्षेत्रमा सरकारले प्रयास गर्दै गरेन भन्न नमिल्ने बताए। शिक्षा खेलबाड गर्ने थलो नभएको भन्दै प्रधानमन्त्री ओलीले शिक्षाको उन्नतिको लागि व्यवस्थित कदम चाल्नुपर्ने बताए। 
उनले भने, ‘स्वास्थ्य क्षेत्रमा सरकारले प्रयास गर्दै गरेन भन्न मिल्छ र ? अहिले पनि साढे ५४ लाख सरकारले तिरेर विद्यार्थी पढाइराखेको छ। अनि सरकारले केही गरेन भन्ने ? सरकारले धेरैलाई किन पढाउन सकेन सीमित किन गर्नुपर्‍यो भने हामी विद्यार्थी फि २३ लाख पनि तिर्न पर्ने त्यसको आधा साढे ११ लाख सञ्चालन खर्च पनि सरकारले दिनपर्ने १९ लाख जति फेरी काम गरे बापत पनि दिन पर्ने गर्दा साढे ५४ लाख पुग्छ। नसक्ने कुराहरू भन्दा सक्ने कुराहरू आफै तिरेर पढ्न दिन पढ्छ हस्पिटल, इकुमेन्ट सेवा सुविधा, डाक्टर नर्स बढाउनुपर्छ। हामीले सन्तुलन ढङ्गबाट जानुपर्छ। शिक्षा खेलबाड गर्ने थलो होइन। त्यसको उन्नतिको लागि व्यवस्थित कदम चाल्नुपर्छ।’  
उनले सरकारले अन्दाधन्दा नभई सोच विचार गरेर देशको पक्षमा, जनतालाई सबल बनाएर अगाडि बढाउने पक्षमा काम गर्ने दाबी गरे। सो अवसरमा प्रधानमन्त्री ओलीले त्यहाँस्थित नवनिर्मित डेनटल कलेज भवनको उद्घाटन समेत गरे।