इन्टरनेशल वुमेन्स च्याम्पियनसिपको फाइनल खेल भोली (बुधवार) हुँदै छ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बेलुका ६ बजेबाट सुरु हुने खेलमा उपाधिको लागि नेपाल र म्यानमारबीच प्रतिस्पर्धा हुनेछ ।
फाइनल खेलअघि मङ्गलवार भएको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक राजेन्द्र तामाङले म्यानारको खेल हेरेर अध्ययन गर्ने मौका पाएको हुनाले सजिलो भएको भन्दै अब फाइनलको तयारी भइरहेको बताए।
उनले भने, ‘हामीलाई दुई वटा खेल जितेर फाइनल पुग्नु थियो, त्यसपछि म्यानारको लागि हामीले एउटा छुट्टै खालको संरचना बनाएका थियौँ। उनीहरूको खेल हेरेर हामीले अध्ययन गर्ने मौका पायौँ उनीहरूको बलियो पक्ष कहाँ छ र कमजोर पक्ष कहाँ छ भनेर त्यसले गर्दा पनि सजिलो भयो। अब फाइनलको तयारी हुदैँछ।’
यसको साथै, नेपालकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले आजसम्म सिल्भरमा नै रहेको भन्दै भोलीको खेल गोल्ड मेडलको लागि खेल्ने बताइन्।
यस्तै, भोली जसले बढी फिल्डमा मेहनत र अनुशासनमा बसेर खेल्छ त्यसले नै जित्ने भन्दै फाइनलको लागि तयार रहेको पनि बताइन्।
उनले भनिन्, ‘जसलाई खेलाए पनि खेल्न सक्ने खालको खेलाडीहरू हुनुहुन्छ। भोली फाइनल छ, फाइनलको लागि नै लड्ने हो आजसम्म हामी सिल्भरमा नै छौँ। भोलीको खेल गोल्ड मेडलको लागि खेल्ने छौँ। भोली जसले बढी फिल्डमा मेहनत र अनुशासनमा बसेर खेल्छ त्यसले नै जित्ने हो हामी फाइनलको लागि तयार नै छौँ। हामी आफ्नो तर्फबाट सय प्रतिशत दिने छौँ।’
यसअघि नेपाल र म्यानमारबीच भएको लिग चरण अन्तर्गतको अन्तिम खेल २– २ को बराबरीमा सम्पन्न भएको थियो। चार देश सम्मिलित रहेको उक्त प्रतियोगितामा आयोजक राष्ट्र नेपालसहित, लेबनान, किर्गिस्तान र म्यानमारले सहभागिता जनाएका हुन्।
फिफा वरियातमा म्यानमार ५५औँ स्थानमा रहेको छ। नेपाल १०३औँ स्थानमा रहेको छ। गत फागुन ५ गतेबाट सुरु भएको प्रतियोगितालाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले फिफा विन्डोको अवसर पारेर तीन विदेशी टिमलाई आमन्त्रण गरेर आयोजना गरेको हो।