धरानमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।
धरान उपमहानगरपालिका वडा नं. ८ तीनकुने चोकस्थित भित्री सडक खण्डमा अस्थायी प्रहरी चौकी तीनकुनेबाट खटिएको प्रहरी गस्ती टोलीले धरानबाट इटहरीतर्फ आउँदै गरेको बा ८३ प २९०४ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्न खोज्दा भागेपछि पिछा गर्दै जाने क्रममा सेउती पुल छेउमा उक्त मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडकमा लडेको अवस्थामा फेला परेको थियो।
मोटरसाइकल चालक तत्काल फरार रहे पनि मोटरसाइकलमा सवार धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं. २ बस्ने २१ वर्षीय सुरेश शिवालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
उनको साथमा रहेको दुई वटा जेब्रा झोला चेकजाँच गर्दा झोलाभित्र सेतो प्लाष्टिकले प्याक गरेको अवस्थामा लागूऔषध गाँजा २९ केजी फेला पारिएको प्रहरीको भनाइ छ।
पक्राउ परेका शिवालाई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। फरार चालकको खोजी कार्य भइरहेको सुनसरी प्रहरीले जनाएको छ।