महाशिवरात्रिका दिन भोलि बिहान साढे २ बजेदेखि नै पशुपतिनाथको दर्शन गर्न पाइने भएको छ। दर्शनका लागि पशुपतिका चारवटै ढोका खुला रहने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले जानकारी दिए।
“शिवरात्रिका दिन भोलि बिहान साढे २ बजेदेखि बेलुका ६ बजेसम्म दर्शन गर्न सकिने व्यवस्था मिलाएका छौँ। यसका लागि पशुपतिका चारवटै प्रवेशद्धार खुला रहनेछन्,” जोशीले भने।
उनका अनुसार, अनुसार बाहिर चारवटा मुख्य प्रवेशद्वार भए पनि भित्र सहायक लाइन हुनेछन्। कोटेश्वर–तीनकुने–सिनामंगल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगंगा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ। यस्तै, गौशाला–पिंगलास्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ। गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै मन्दिरमा प्रवेश गर्न सकिनेछ।
जोशीका अनुसार मासु, मदिरा, गाँजा, भाङ, चरेस आदिको भण्डारण बिक्रीवितरण तथा ओसारपसारमा प्रतिबन्ध लगाइएको छ। त्यस्तै, प्लास्टक पनि निषेध गरिएको छ।
कोषले दर्शनार्थीहरूको सुरक्षाका लागि सबैतिर सीसीटीभी क्यामेरा जडान गरेको छ। त्यस्तै, जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराको कमान्डमा तीनहजार ५११ प्रहरी परिचालन हुने छन्। प्रहरी तीन सिफ्ट गरी खटिनेछन्।

करिब १० लाख भक्तजनले दर्शन गर्ने कोषको अनुमान छ।