पश्चिम नवलपरासीमा प्रेम विवाहको विषयलाई लिएर झडप हुँदा २० जना घाइते भएका छन्।

जिल्लाको पाल्हिनन्दन गाँउपालिका–३ बेलासपुरमा दुई समुदायबीच भएको झडपमा २० जना घाइते भएका हुन्।

झडपका क्रममा स्थानीयले प्रहरीको गाडी जलाइदिएका छन्। प्रहरीको बा १ झ ७४४८ नम्बरको गाडी स्थानीयले बलेको टायर फालेर जलाइदिएका हुन्।

दुई समुदायका युवा युवतीबीच प्रेम विवाह भएको र विवाद बढ्दै जाँदा झडपको अवस्था निम्तिएको प्रहरीको भनाइ छ।

करिब चार महिना अगाडि फरक समुदायका युवा युवतीबीच विवाह भएपछि विवाद भइरहेको गाउँमा गाडीले मान्छे हानेको विषयलाई लिएर विवाद उग्र बनेको थियो।

नवलपरासीका निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेका अनुसार ५ जना स्थानीय, १२ जना जनपथ प्रहरी र ४ जना सशस्त्र प्रहरी घाइते भएका छन्।

गाडीले ब्याक गरेर मान्छे हानेको विषयबाट सुरु भएको विवादबाट केटा र केटी पक्षबीच झडप भएको उनले बताए।

विवाद हुँदा नजिकै रहेको पुरानो टायरको ग्यारेजमा आगजनी गरिएको र ग्यारेज नजिकैको घरमा रहेको मान्छे बचाउन गएको प्रहरीको गाडीमा बलेको टायर फालेर आगजनी गरिएको प्रजिअ घिमिरेले बताए।

घटनाबारे सुक्ष्म रूपमा अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ।