शिक्षक महासङ्घ मुगुले चालू हिउँदे अधिवेशनबाटै विद्यालय शिक्षा ऐन जारी गरियोस् भन्दै छायानाथ रारा नगरपालिका मार्फत नेपाल सरकारलाई मङ्गलवार एक ध्यानाकर्षण पत्र बुझाएका छन्।
देशभरका ७ सय ५३ वटै स्थानीय सरकारहरू मार्फत सङ्घीय सरकारलाई बुझाउने गरी जिल्ला स्थित नेपाल शिक्षक महासङ्घले ध्यानाकर्षण पत्र बुझाएको हो।
नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको गत महिना २२ गते एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच विभिन्न समयमा भएका सहमति र सम्झौताहरूमा उल्लेखित मागहरू सहितको विद्यालय शिक्षा विधेयक संसद्को चालू हिउँदे अधिवेशनबाट पारित गरी जारी गर्न महासङ्घका स्थानीय, जिल्ला र प्रदेश समितिहरूलाई केन्द्रीय समितिले तोके बमोजिमका दबाब मूलक कार्यक्रम आयोजना गर्न निर्देशन भएबमोजिम मङ्गलवार हातमा कालो पट्टि बाँधेर खबरदारी जुलुससहित पालिकाहरूमा ध्यानाकर्षण पत्र बुझाइएको नेपाल शिक्षक महासङ्घ छायानाथ रारा नगर कार्य समितिका अध्यक्ष जानसा मल्लले बताइन्।
अध्यक्ष मल्लका अनुसार आजै स्थानीय तहहरूमा आन्दोलनलाई व्यवस्थित र मर्यादित बनाउन आन्दोलन परिचालन समिति समेत गठन गरिएको छ। आन्दोलनका कार्यक्रम अन्तरगत फागुन ८ गते हरेक विद्यालयमा अभिभावक,विद्यालय व्यवस्थापन समिति र विद्यार्थीबीच अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने, फागुन ९ गते ७७ वटै जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइमा र ७ वटै प्रदेशका मुख्यमन्त्री,सामाजिक विकास मन्त्री समक्ष ध्यानाकर्षण पत्र बुझाउने,कालो पट्टि सहित बृहत् जुलुस सभा गर्ने र आन्दोलन परिचालन समिति गठन गर्ने कार्यक्रम रहेको छ।
देश सङ्घीयतामा गएपनि शिक्षा क्षेत्र भने पञ्चायत कालको समयमा बनाइएको शिक्षा ऐन २०२८ बमोजिम नै चलिरहेको छ। सङ्घीयताको मर्म र युग सुहाउँदो ऐन बनाएर शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउन आवश्यकता रहेकाले चालू हिउँदे अधिवेशनबाट शिक्षा ऐन पास गरी कार्यान्वयनमा ल्याउन नेपाल शिक्षक महासङ्घ मुगुका अध्यक्ष विष्णुमाया भामले बताए।
शिक्षक महासङ्घ मुगुबाट आएको ध्यानाकर्षण पत्र सरोकारवाला निकायसँग पेस गर्ने र शिक्षकहरूको माग समयमा पुरा होस् भन्दै ध्यानाकर्षण पत्र छायानाथ रारा नगरपालिकामा नगर प्रमुख विष्णु कुमार भामले बताए।