भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली छात्रा मृत अवस्थामा फेला परेकी छन्। 

आइतबार साँझ भुवनेश्वरको पटिया क्षेत्रमा रहेको केआईआईटी विश्वविद्यालयको होस्टेलमा रहस्यमय अवस्थामा उनी मृत भेटिएकी हुन्। मृतक छात्रा नेपाली बी.टेक तेस्रो वर्षकी छात्रा प्रकृति लम्साल रहेको जनाइएको छ। उनको मृत्युको कारण अझै पत्ता लागेको छैन।

सोही विश्वविद्यालयका तेस्रो वर्षका मेकानिकल इन्जिनियरिङका एक पुरुष विद्यार्थी साथीले कथित रूपमा दुर्व्यवहार गरेपछि उनले आत्महत्या गरेको आशंका गरिएको छ।

सामाजिक सञ्जाल एक्सका एक प्रयोगकर्ताले ती पुरुष विद्यार्थीले प्रकृतिलाई दुर्व्यवहार गरेको अडियो समेत पोष्ट गरेका छन्।

गत महिना विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) लाई प्रकृतिले आफूमाथि दुर्व्यवहार भएको रिपोर्ट गरेकी थिइन्। तर, विश्वविद्यालयले कुनै कारबाही अघि नबढाएपछि प्रकृतिले आत्महत्याको बाटो रोजेको स्रोतको दाबी छ। 

घटनापछि आक्रोशित विश्वविद्यालयका विद्यार्थी सडकमा उत्रिएका थिए। उनीहरूले विश्वविद्यालयको प्रवेशद्वार बाहिर विरोध प्रदर्शन गरेका थिए।  विश्वविद्यालय अधिकारीहरूको लापरबाहीको कारण प्रकृति ज्यान गएको भन्दै उनीहरूले नाराबाजी गरेका थिए।