ताप्लेजुङको मुक्कुमुलुङ/पाथीभरा केबलकार विवादमा आइतबार सरकार र आन्दोलित पक्षबीच भएको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ।

काठमाडौंको बबरमहलस्थित बसेरा होटलमा भएको वार्ता बिना निष्कर्ष टुङ्गिएको आन्दोलित पक्षकी वार्ताकार सरस्वता लिम्बूले बताइन्।

उनका अनुसार २ घण्टासम्म भएको वार्तामा सरकारका तर्फबाट संयोजक तोकिएका गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई मात्रै उपस्थित थिए।

यता आन्दोलनकारीले आइतबारको वार्तामा गृहमन्त्री रमेश लेखक नै उपस्थित हुनुपर्ने माग राखेका थिए।

आन्दोलनकारीले केबलकार निर्माण रोकेर पाथीभरालाई प्राकृतिक रुपमा जस्तो अवस्थामा छ त्यस्तै छाडिदिन माग राखेका छन्।

तर सरकार पक्ष निर्माण अघि बढिसकेकाले रोक्न नहुने पक्षमा छ। त्यहीकारण सहमति जुट्न नसकेको हो। सहमति नभएपछि सरकारी टोलीका संयोजक भट्टराई खबर गर्ने भन्दै हिँडेका थिए।

गत माघ २२ गते भएको वार्तामा केबलकारको स्टेशनबारे आइतबार हुने वार्तामा विस्तृत छलफल गर्ने सहमति पनि दुई पक्षबीच भएको थियो। तर यस बारेमा आजको वार्तामा कुरा भएन।

माघ २२ को सहमतिमा सरकारले घोषणा गरे बमोजिम गत माघ १२ गतेको र त्यस आसपास भएका आन्दोलनका क्रममा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचार गर्ने उल्लेख थियो।

माघ १२ गते ताप्लेजुङ सदरमुकाममा सुरक्षाकर्मीसँग भएको घटनाबारे छानबिन गरी कानुनी कारबाही गर्ने सहमति पनि भएको थियो।

आन्दोलनका क्रममा पक्राउ परेका, थुनुमा रहेका बन्दीहरूको बिनाशर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने पनि सहमति भएको थियो।

मुक्कुम्लुङ संरक्षणका लागि आन्दोलनमा रहेका पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने सहमति माघ २२ मा भए पनि आइतबार खासै कुरा अघि नबढेको हो।