आम जनता पार्टीका अध्यक्ष प्रभु साहले कार्यालय सहयोगी, ड्राइभर, स्विपर, मालीलगायत श्रेणीविहीन कर्मचारीहरूको जागिरको सुनिश्चितताको ग्यारेन्टी गर्नुपर्ने बताएका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारी निकायमा तल्लो स्तरमा काम गर्ने कार्यालय सहयोगी, ड्राइभर, सुरक्षा गार्ड, माली र स्विपरलगायतका तल्लो तह र श्रेणी विहीनहरुको जीवन एकदमै कष्टकर भइरहेकाले जागिरको सुनिश्चितता गर्नुपर्ने माग गरेका हुन्।
उनले भने, ‘सरकारी निकायमा तल्लो स्तरमा काम गर्ने कार्यालय सहयोगी, ड्राइभर, सुरक्षा गार्ड, माली र स्विपरलगायतका तल्लो तह र श्रेणीविहीनहरुको जीवन एकदमै कष्टकर भइरहेको छ। जागिर नै पूरै असुरक्षित छ, जागिरको निरन्तरताका लागि शासक र नेताहरुलाई गुहारिरहनुपर्ने, चाकडी गर्नुपर्ने बाध्यता छ। सरकारलाई सोध्न चाहन्छु कि ती पोष्टहरुमा स्थायी भ्याकेन्सी गरेर पदपूर्ति गर्न के ले रोक्यो ? आजभोलि लोकसेवा आयोगले जति पनि विज्ञापन गरिरहेको छ, कक्षा १२ भन्दा माथिको मात्रै भइरहेको छ, के ती श्रेणीविहीन पदहरू सरकारी निकायबाट हटाइएको हो ? ती पोस्टहरूको जरुरी छैन? सरकारी निकायमा गाडीको जरुरी छ भने ड्राइभरको किन विज्ञापन हुँदैन ? के चालकहरू नेपाली नागरिक होइनन् ? के गरिबहरू नेपाली नागरिक होईनन ?’
साथै उनले गरिवमारा कानुन आफूहरूलाई नचाहिएको चेतावनी दिए। उनले हिजो पञ्चायतकालमा न्याय पाउने तर आज गणतन्त्रमा कम्युनिष्टहरुको सरकार हुँदा पनि यसरी अन्याय भइराख्दा आम मान्छेले स्वाभाविक नमानेकोले सरकारको ध्यानाकर्षण समेत गराए।