मोरङको उर्लाबारी नगरपालिका-५ मा रहेको ‘मोबाइल वर्ल्ड’ पसलमा चोरी भएको छ। उर्लाबारी नगरपालिका-७ का योगराज कार्कीले सञ्चालन गर्दै आएको मोबाइल वर्ल्डमा सोमबार बिहानको राति चोरी भएको हो।

सटरको ताला फुटाएर एक समूहले कार्कीको पसलबाट ठूलो परिमाणमा मोबाइल तथा नगद चोरी गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। मोरङ प्रहरी प्रमुख नारायणप्रसाद चिमरियाका अनुसार सटरको ताला फुटाएर विभिन्न ब्रान्डका मोइबाल तथा नगद चोरी भएको हो।

‘बिहान राति १२ देखि १ बजेको समयमा चोरी भएको अनुमान गरिएको छ, के कति परिमाणमा मोबाइल तथा नगद चोरी भएको भन्नेबारे हाम्रो टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरू गरेको छ,’ चिमरियाले भने, ‘चोरी गर्ने समूहको खोजीमा प्रहरी जुटेको छ।’

पसल खोल्न जाँदा चोरी भएको थाहा पाएपछि सञ्चालक कार्कीले इलाका प्रहरी कार्यालय उर्लाबारीमा सोमबार बिहान ९ बजे खबर गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय उर्लाबारी र जिल्ला प्रहरी कार्यालयको टोलीले अनुसन्धान थालेको छ।

सञ्चालक कार्कीका अनुसार पसलको गल्लाबाट ९ लाख रुपैयाँ नगद चोरी भएको छ। यसबाहेक विभिन्न ब्रान्डका साढे तीन सय थान मोबाइल चोरी भएको छ।