मापदण्ड विपरीत सञ्चालनमा ल्याइएको भन्दै चन्द्रपुर स्केट पार्क नामक स्केटिङ् हाउसमा शिल गरिएको छ। चन्द्रपुर नगरपालिकाको टोलीले शनिवार अनुगमन गर्दा मापदण्ड विपरीत रहेको पाइएपछि शिल गरेको हो।
स्केटिङ् हाउस दर्ता नरहेको, केही दिन अघि एक किशोर स्केटिङ् गर्ने क्रममा लड्दा चोट समेत लागेको र बाल श्रमिक राखेको अनुगमनका क्रममा पाइएपछि शिल गरिएको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रवि राना मगरले बताए।
उक्त स्केटिङ् पार्क हाउसमा एक किशोर स्केटिङ् गर्ने क्रममा लड्दा चोट लागेको र सो घटनापछि चौतर्फी गुनासो आउन थालेपछि पालिकाले अनुगमन गरेको उनले जानकारी दिए।
उनका अनुसार चन्द्रपुर नगर स्तरीय बाल सञ्जालका प्रतिनिधि, चन्द्रपुर नगरपालिकाको उपप्रमुख जयमाला चौधरी र चन्द्रपुर नगरपालिका वडा नम्बर ४ को वडा अनुगमन संयुक्त टोलीले अनुगमन गरेको हो।
अनुगमनको क्रममा सो स्केटिङ् पार्क दर्ता समेत नभई सञ्चालनमा रहेकाले तत्काल शिल गरी आवश्यक प्रक्रिया अघि बढाइएको वडा अध्यक्ष मगरले बताए।
चन्द्रपुर ४ ले वडामा रहेका विभिन्न व्यवसायमा बालश्रम हुने गरेको र गुणस्तरहीन सामग्री प्रयोग गरिएको भन्ने गुनासो बढेको कारण अनुगमनको कार्य लाई तीव्रता दिएको उनले उल्लेख गरेका छन्।
चन्द्रपुर ४ स्थित बञ्जारा कम्प्लेक्समा रहेको उक्त स्केटिङ् हाउसका संचालकद्वय प्रेम चौधरी र अनिकित राई दास रहेको बुझिएको छ। तर अनुगमनको समयमा उक्त स्थानमा नरहेको नगर उपप्रमुख जयमाला चौधरीले बताइन्।
टेलिफोन सम्पर्कमार्फत अनुगमनको बारेमा जानकारी गराउँदै नगरपालिका कार्यालयमा उपस्थित हुन समेत भनिएको छ। सुरक्षाको दृष्टिकोणले समेत उच्च जोखिम रहेको र दुर्घटना निम्त्याउने खतरा बढेकाले शिल गरिएको चन्द्रपुर नगरपालिकाले जनाएको छ