हुम्लाको दक्षिण भेगमा पर्ने चङ्खेली गाउँपालिकामा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
चङ्खेली गाउँपालिका–१ दर्बिस्थित बोहरावाडाबाट रिमीतर्फ जाँदै गरेको लु४त ७७२० नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही वडाका ३५ वर्षीय तुले बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिए।
चौध क्विन्टल अनुदानको नुन ढुवानी गरेर गइरहेको ट्र्याक्टर दुर्घटना हुँदा बोहराको घटनास्थलमै मृत्यु भएको उनले बताए।
दुर्घटनामा परी घाइते चङ्खेली–१ का ४० वर्षीय मानबहादुर बोहराको टाउको र छातीमा चोट लागेकाले अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए।
सोही वडाका ४५ वर्षीया धना बोहरा, १० वर्षीया चरी बोहरा घाइते भएका छन्। धनाको टाउको र शरीरका विभिन्न भागमा चोट लागे पनि उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
ट्र्याक्टर मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका–१४ का २६ वर्षीय हिराबहादुर बडुवालले चलाएका थिए। चालक बडुवाल दुर्घटना लगत्तै फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
ट्र्याक्टर चालिस मिटर तल खसेर दुर्घटना भएको थियो।