वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको विरोधमा कानुन व्यवसायीहरूले आइतबार कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन्।
सर्वोच्च अदालत बार एशोसिएशनको आव्हानमा बारका सदस्यले हातमा कालोपट्टी बाँधेर विरोध जनाएका हुन्।
उक्त प्रदर्शनमा पीडित अधिवक्ता त्रिपाठीले एउटा हुलले आएर आफूलाई दुर्व्यवहार गरेको बताए। उनले व्यक्तिगत मामिलामा नभई पीडितको प्रतिनिधित्व गर्दा आफूमाथि आक्रमण भएको बताए।
उनले भने, ‘न्यायको प्रत्याभूति गर्न सक्नुपर्छ। आक्रमणलाई गम्भीरतापूर्वक छानबिन गरिनुपर्छ। वकिलहरूको प्रतिनिधित्वबिना न्याय प्रणाली कसरी फैसला गर्छ ? यो महत्त्वपूर्ण कुरा हो। मलाई व्यक्तिगत मामिलामा नभई पीडितको प्रतिनिधित्व गर्दा म माथि आक्रमण भएको छ। यसको सत्य तथ्य छानबिन गरिनुपर्छ। मलाई दुर्व्यवहार गरिएको छ।’
प्रदर्शनमा उनीहरूले त्रिपाठीमाथिको आक्रमणको विरोध र कानुन व्यवसायीको सुरक्षाको सुनिश्चितता हुनुपर्ने माग राखेका छन्। आन्दोलनमा वरिष्ठ अधिवक्ताहरू रमेश श्रेष्ठ, शम्भु थापालगायतका बारका पदाधिकारी र सदस्य पुगेका थिए।