मधेस प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखीले विपत्तका घटनाहरू प्रति जिम्मेवार रहेका निकायहरूको गम्भीरतापूर्वक ध्यान जानु पर्नेमा कमी देखिएको बताएका छन्।
२७ औँ भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा जनकपुरधाममा निकालिएको प्रभात फेरी कार्यक्रममा बोल्दै गृहमन्त्री लेखीले सुरक्षाको प्रश्नमा सरकारका सम्बन्धित सम्पूर्ण निकायहरूको गम्भीरतापूर्वक ध्यान जानुपर्नेमा कमी देखिएको बताएका हुन्।
उनले प्रभाव फेरि कार्यक्रममा सहभागी सरोकारवाला निकायका पदाधिकारीको उपस्थित न्यून देखिएकोले आफू निराश भएको भावना व्यक्त गरे। उनले सुरक्षाको विषयमा आयोजित कार्यक्रम र घटनालाई समय दिन नसके समाज, प्रदेश र देशप्रति न्याय नहुने बताए। प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा बजेट र समय खर्च गरेतापनि सहभागीहरूको कमी हुने गरेकामा निराशा व्यक्त गरे।
गृहमन्त्री लेखीले सञ्चारमाध्यमहरूलाई पनि राजनीतिक कार्यक्रमबाहेक सुरक्षा र सामाजिक घटनाहरूको समाचार सम्प्रेषणमा ध्यान दिन अनुरोध गरे।
प्रभाव फेरी कार्यक्रममा धनुषा प्रहरी, प्रदेश प्रहरी, सशस्त्र प्रहरी बल, जनकपुरधाम उपमहानगरपालिका, जिल्ला समन्वय समिति धनुषा, लगायत अन्य सम्बन्धित निकायका पदाधिकारीको उपस्थित रहेको थियो।
वि.सं.१९९० माघ २ गते दिउँसो २ः२४ बजे गएको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष सोही दिनलाई भूकम्प सुरक्षा दिवसका रूपमा मनाइँदै आइएको छ।