‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने नारासहित आज काठमाडौँको नयाँ सडकस्थित भूगोल पार्कमा २७ औँ भूकम्प स्मृति सभा सम्पन्न भएको छ। 
१९९० साल माघ २ गते र त्यसपछिका विनाशकारी भूकम्पबाट भएको क्षति अबका पुस्ताले व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न यो दिवस मनाउने गरिएको छ। 
यस प्रकारको सम्झनासँग विगतका गल्ती नदोहो¥याउने प्रतिबद्धता जोडिएको छ। विगतका विनाशकारी भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा पुस्तालाई सहभागी गराउने उद्देश्य राखेर २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो। 
भूकम्पलाई विज्ञानसँग जोडेर २०५७ सालसम्म विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रम आयोजना गरेको थियो। २०५८ सालदेखि गृहमन्त्रीको संयोजकत्वमा मूल समारोह समिति समिति गठन मनाउन थालिएको हो। 
स्मृति सभालाई सम्बोधन गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले विपद्को पहिलो उद्धारकर्ता तथा सहजकर्ता समुदायलाई बनाउनुपर्ने बताएकी छिन्। उनले महानगरपालिकालाई विपद् उत्थानशील सहर बनाउन विपद् पूर्व तयारी, जोखिम न्यूनीकरण, प्रतिकार्य एवम् पुनर्लाभका लागि वडा विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाइएको समेत बताइन्।
उनले भनिन्, ‘विपद्को पहिलो उद्धारकर्ता तथा सहजकर्ता समुदायलाई बनाउनुपर्छ। नागरिकको आँगनको सरकारले यो काम गर्छन्। सङ्घ र प्रदेश सरकारले स्थानीय तहको क्षमता विकासमा सहयोग गर्नुपर्छ। यस कोणबाट सबै तहका सरकारको समान भूमिका छ।’ महानगरपालिकाले सञ्चालन गरिरहेका कार्यक्रमका बारेमा उल्लेख गर्दै उनले भनिन्, ‘महानगरपालिकालाई विपद् उत्थानशील सहर बनाउन विपद् पूर्व तयारी, जोखिम न्यूनीकरण, प्रतिकार्य एवम् पुनर्लाभका लागि वडा विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाएका छौँ। स्थानीय आकस्मिक कार्य सञ्चालन केन्द्र स्थापना गरेका छौँ ।’
विपदमा संरचनागत जोखिमका सन्दर्भमा कुरा गर्दै उनले, आधुनिकताको उच्च उपयोग भइरहेको वर्तमान सन्दर्भमा रैथाने निर्माण सामग्री र विधिको बहस चलिरहेको र यस वहसलाई गम्भीरताका साथ लिनुपर्ने बताइन्।  
कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव डा।भीष्मकुमार भुसालले १९९० सालको भूकम्पपछिको पुनः स्थापनाको विषयमा धारणा राख्दै भने, ‘त्यस बेला कूटनीतिक क्षेत्रबाट व्यवस्थापनका लागि सहयोग के चाहिन्छ भनेर सोध्दा सरकारबाट जवाफमा हामी लिन जन्मेका होइनौँ। दिन जन्मेका हौँ। हामीलाई हाम्रा नागरिकमाथि भरोसा छ। नागरिककै क्षमताले पुनः स्थापना हुन्छ, भनिएको थियो। सुन्दा सामान्य लागे पनि यो भनाइ मननीय छ।’
भवन संहिताको कडाइका साथ पालनासँगै निर्माण सामग्री उपयोगका विषयमा पुनर्विचार गर्नुपर्ने भुसालको भनाइ थियो। 
‘भूकम्पजस्ता विपद्को क्षति सम्झना गर्नेभन्दा यस प्रकारका क्षति हुन नदिने प्रणालीमा काम गर्नु पर्ने बेला आएको छ।’ कार्यक्रममा महानगरपालिकाको विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापाले भने,‘प्रतिरोधी संरचना निर्माण गर्न रैथाने सिपको प्रयोग हुन सक्छ। हाम्रा प्राचीन संरचनाले ठुला भूकम्पको कम्पन थेगेका छन्। यो सिपलाई प्रवर्धन गरौँ।’