सहरी विकास तथा भवन निर्माण विभागले आगामी माघ २ गते २७ औँ भूकम्प सुरक्षा दिवस मनाउने भएको छ।
आइतबार विभागले पत्रकार सम्मेलन गर्दै ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्व तयारीका साथ’ भूकम्प सुरक्षा दिवस मनाउन लागेको जानकारी दिएको हो।
विज्ञप्तिमा लेखिएको छ,‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्व तयारीका साथ’ भन्ने मूल नाराका साथ देशव्यापी रूपमा विविध कार्यक्रमहरू सञ्चालन गरी २७ औँ भूकम्प सुरक्षा दिवस देशैभर मनाउने कार्यक्रम रहेको छ।’
विभागका अनुसार यस दिवसको मूल समारोहको कार्यक्रम कीर्तिपुर नगरपालिका स्थित वि.पी. कोइराला मेमोरियल विज्ञान संग्राहलय परिसरमा आयोजना गरिनेछ।
यस दिन कीर्तिपुर क्षेत्रमा विभिन्न संस्थाहरूले लामबद्ध भई भूकम्प सुरक्षा प्यालीमा भाग लिनेछन्। कीर्तिपुरको पाँगा दोबाटोबाट सुरु भएर उक्त र्याली पाँगा बसपार्क, लाछी भ्यावं, नगाउँ, खसी बजार, बाघ भैरव मन्दिर, इट्टाछे, मङ्गल स्कुल, नगरपालिका भवन हुँदै कार्यक्रम स्थल आइपुग्ने छ।
कार्यक्रम स्थलमा दुई दिने भूकम्प सुरक्षा प्रदर्शनी कार्यक्रमको आयोजना गरिने र सो कार्यक्रममा विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा काम गर्ने विभिन्न संघसस्थाहरुको पनि सहभागिता रहने विभागले जनाएको छ।
भूकम्प सुरक्षा दिवसको उपलक्ष्यमा मूल समारोहको कार्यक्रम बाहेक विभिन्न निकायहरूको सक्रियतामा प्रदेश तथा स्थानीय तह लगायत देशभरि नै गोष्ठी, छलफल, व्याली, अन्तरक्रिया, प्रदर्शनी, प्रतियोगिता कार्यक्रम, रक्तदान, सडक नाटक, अडियो भिडियो कार्यक्रमहरू लगायतका विभिन्न प्रचारप्रसारका कार्यक्रमहरू आयोजना हुने पनि विभागले जनाएको छ।