नेपाल पत्रकार महासंघले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईका कारण सामजिक दूरी र द्वन्द्व बढ्दै गएको निष्कर्ष निकालेको छ।

महासंघले आइतबार विज्ञप्ति जारी गर्दै धरानका पत्रकार गोपाल दाहालबारे स्थलगत अध्ययन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक गर्दै यस्तो निष्कर्ष निकालेको हो।

केन्द्रीय सदस्य कमल रिमाल र शंकर खरेल, महासंघ कोशी प्रदेश कमिटीका अध्यक्ष भरतबहादुर खड्का, सुनसरी शाखा अध्यक्ष सन्तोष काफ्ले र वरिष्ठ पत्रकार हर्ष सुब्बाले सबै दलसँग छलफल गरी तयार पारेको स्थलगत प्रतिवेदनका आधारमा यस्तो निष्कर्ष निकालिएको हो।

‘धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईका गतिविधिले सामाजिक दुरी र द्वन्द्व बढ्दै गएको छ’, निष्कर्षबारे महासचिव रामप्रसाद दाहालले भनेका छन्, ‘प्रमुख राईले आफ्नो आलोचना गर्ने, सहरको अवस्थाबारे समाचार लेख्नेलाई गाली र अपमान गर्ने, आफ्ना समर्थकबाट धम्की दिने, शारीरिक हमला गर्ने र समाचार लेख्न नपाउने गरेको देखिन्छ।’

महासंघले नगर प्रमुखले कथा लेखेर, भिडियो बनाएर आफ्नो राम्रो कामका लागि युट्युबर प्रयोग गरेको भेटिएको पनि जनाएको छ।

‘नगर प्रमुखबाट आफ्नो राम्रो कामको पक्षको कुरा लेखाउने, भिडियो बनाउने काममा युट्युबरहरूलाई प्रयोग गरेको पाइएको छ। व्यावसायिक पत्रकारहरूलाई निशाना बनाउने काम गरेको देखिन्छ’, महासंघले भनेको छ, ‘जवाफ दिन अनुकूल प्रश्न नगर्नेलाई प्रमुख राईले दलको झोले पत्रकार भनेर गाली गर्ने गरेको देखिन्छ।’

मेयर राईले नगरका गतिविधिको सूचना मेयर राईले नदिने गरेको पनि जनाएको छ। ‘नगरका सूचनाहरू नदिने, पत्रकारहरूसँग सम्पर्कमा आउन नचाहने, सामाजिक सञ्जालमार्फत नगर प्रमुखले पत्रकार र उनका परिवारलाई पीडा हुने गरी चुनौतीको भाषामा लेख्ने, भिडियो सामग्रीहरू बनाउने कार्यले गोपाल दाहाललगायत पीडित पत्रकारका परिवारका सदस्यहरू मानसिक तनावमा रहेको पाइएको छ।’

महासंघले कतिपय पीडित पत्रकारका छोराछोरीहरू, पत्रकार बुबाआमालाई धम्म्याएका वा गाली गर्दै लेखेका सामाजिक सञ्जालको स्टाटस हेरेर डराएको, विद्यालयमा पढ्न जानसमेत सशंकित हुने गरेको पाइएकोले त्रासको वातावरण व्यक्तिमा मात्र सीमित नरही परिवारको तहसम्म पुगेको जनाएको छ।