धरानको दुई स्थानबाट प्रहरीले ठुलो परिमाणमा लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालयले दिएको जानकारी अनुसार धरान–८ सिद्धार्थ मार्गस्थित कुमार खत्रीको घरमा कोठा लिएर बस्ने ३१ वर्षीय असरद अन्सारी र ४५ वर्षीय जियाउल अन्सारी पक्राउ परेका हुन्। 
उनीहरूको कोठा खानतलासी गर्दा ट्रामाडोल–५० लेखिएको ४२ हजार ६ सय क्याप्सुल बरामद भएको थियो। अरसदको स्थायी घर सुनसरीको हरिनगरा–४ र जियाउलको सोही पालिकाको वडा–२ भूटाहा हो। 
असरद र जिउलले धरानमा कोठा भाडामा लिएर अवैधरुपमा लागूऔषधको कारोबार गर्दै आएको जानकारी पाएपछि बिहीबार राती छापा मार्दा ट्रामाडोल बरामद भएको हो। बरामद ट्रामाडोलको बजार मुल्य करिब ४ लाख रुपैयाँ बराबरको हुन आउँछ। 
यसैगरी, प्रहरीले धरान–१६ बस्ने २४ वर्षीय सुमित भुजेललाई जोरसखुवा चोकबाट पक्राउ गरेको जनाएको छ। भूजेलको साथबाट ट्रामाडोल सय क्याप्सुल, ट्रामानियल ९ सय क्याप्सुल, स्पास्मेण्ड हजार क्याप्सुल बरामद गरेको प्रहरीले जनाएको छ। 
ट्रामाडोल औषधी मांसपेशीको दुखाई कम गर्न र रुमेटायड आर्थराइटिस र आस्टियो आर्थराइटिसबाट हुने दुखाई कम गर्न बिरामीलाई चिकित्सकको सल्लाह अनुसार मात्र प्रयोग गर्न सकिन्छ। ट्रामाडोलमा भएको रसायनले दुखाई भएको सन्देश दिने मस्तिष्कको रसायनलाई निष्क्रिय बनाउने गर्छ। यस्तै ट्रामानियल र स्पास्मेण्ड पनि दुखाई कम गराउने औषधी नै हुन्।
यी औषधीहरूलाई लागूऔषधको श्रेणीमा राखिएको छैन। जुनसुकै मेडिकल हल वा औषधी पसलमा पाउन सकिने भएकाले पछिल्लो समयमा लागूऔषधको कारोबार गर्ने गिरोहले लागूऔषधकै रूपमा प्रयोगकर्ताहरूलाई बिक्री गर्दै आएका छन्।