उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम लिमिटेडप्रति आम बुझाइ नकारात्मक रहेको बताएका छन्।
शुक्रवार नेपाल आयल निगम लिमिटेडको ५५औंं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले आजको दायित्व पूरा गर्ने,अति आवश्यक वस्तुको ढुवानी वा त्यसको व्यवस्थापन र व्यावसायिकतामा निगमले सफलता पाए पनि बाहिरबाट नकारात्मक किसिमबाट हेर्ने गरेको पाइएको बताए।
उनले भने,‘ आज नेपाल आयल निगमप्रतिको आम बुझाइ के छ आम मान्यता के छ ? मान्यता त्यति राम्रो देखिएको छैन। यसले आजको अभिभारा पूरा गर्ने दायित्व पुरा गर्ने अति आवश्यक वस्तुको ढुवानी त्यसको व्यवस्थापन र व्यावसायिकतामा यसले सफलता पाए पनि बाहिर फरक किसिमबाट हेर्ने गरेको पाइन्छ। अझ चम्किलो पार्न नयाँ ढङ्गले सोच्नै पर्नेछ।’
मन्त्री भण्डारीले जनशक्ति धेरै भए पनि संस्थाले माग मात्र गर्ने तर सोही अनुसारको काम भने नगरेको गुनासो गरे। संस्थाले विकास नगर्ने तर संस्थाबाट माग मात्र गर्ने, लाभ मात्र लिने कुराले संस्थाले कहिले प्रगति गर्ला भन्दै उनले प्रश्न गरे।
उनले भने,‘यही जनशक्तिमा यो भन्दा धेरै काम गर्न सक्छौ। अझ भरपर्दो बनाउन सक्छौँ। तर त्यसमा पहलकदमी भएको देखिँदैन। संस्थाले विकास नगर्ने त्यो संस्थाबाट माग मात्र गर्ने लाभ मात्र लिने कुराले संस्थाले कहिले प्रगति गर्ला ? नौं तहभन्दा माथि छ। गणना गर्दा ओला भन्दा बढी सङ्ख्या छ। तर काम छैन। निर्माणका सुधारका कामहरू थुप्रै छ तर त्यसमा पहल कदमी देखिएको छैन।’
आयल निगमले जे जति व्यवसाय गर्छ अहिले त्यसका विकल्पहरू आइसकेको भन्दै नयाँ विकल्प नखोज्ने हो भने यसको व्यवसाय घटी नै रहने धारणा राखे।
उनले भने, ‘आयल निगमले जे जति व्यवसाय गर्छ,अहिले त्यसका विकल्पहरू आइसकेका छन्। धेरै निगमको व्यवसाय घटिरहेको छ। नयाँ विकल्प नखोज्ने हो भने यसको व्यवसाय घट्ने क्रम चाहिँ रही रहन्छ।’मन्त्री भण्डारीले नयाँ ढङ्गले नसोच्ने निगम टिकिरहन नसक्ने बताए।
आयल निगमको व्यवसाय घटिरहेको र यसको विकल्प बढ्दो रहेकाले निगमको व्यापार घट्दो अवस्थामा रहेको मन्त्री भण्डारीले बताए।
आयल निगमले विकल्प खोज्दै नयाँ योजना अघि सार्नुपर्ने मन्त्रीको सुझाव छ। आयल निगमले नयाँ नयाँ चिजको खोजी गरेर गुणस्तरीय सेवा दिन सोच्नुपर्ने मन्त्री भण्डारीले बताए।