पार्टी सभापति रवि लामिछाने ६५ लाख रुपैयाँ धरौटी राखेर छुटेपछि आज बिहान राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीले जनतासँग माफी मागेको छ। 
रास्वपाका कास्की जिल्ला अध्यक्ष यदुनाथ अधिकारीले शुक्रवार बिहानै प्रेस विज्ञप्ति निकालेर आम नागरिक, सुरक्षाकर्मी, नेपाल प्रहरी र उद्यमी व्यवसायीसँग क्षमा मागेका हुन्। 
पार्टी सभापति लामिछानेको रिहाइ र न्यायका लागि विभिन्न मध्यमबाट आन्दोलनमा उत्रिएका पार्टीका सम्पूर्ण कार्यकर्ता शुभचिन्तक, समर्थक, न्याय प्रेमी जनसमुदाय र पत्रकारहरूलाई कृतज्ञता प्रकट गर्दै उक्त विज्ञप्तिमार्फत आन्दोलन, धर्ना विरोधसभाको क्रममा आम नागरिक, सुरक्षाकर्मी, नेपाल प्रहरी र उद्यमी व्यवसायीलाई पर्न गएको असुविधाप्रति पार्टीको तर्फबाट क्षमा याचना गरिएको छ। 
उक्त विज्ञप्तिमा भनिएको छ ‘ढिलै भएपनि सत्यको जित भएको छ। हाम्रो पार्टी सभापति एवं पूर्व गृहमन्त्री माननीय रवि लामिछानेज्यू मिति २०८१ कार्तिक २ गतेबाट विगत ८४ दिनदेखि विना कसुर सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहनुभएको थियो। सम्मानित कास्की जिल्ला अदालतले उहाँलाई ६५ लाख धरौटीमा रिहाइ गर्ने आदेश दिएको छ। सम्मानित कास्की जिल्ला अदालतको आदेशप्रति हामी हार्दिक आभार, कृतज्ञतासहित उच्च सम्मान व्यक्त गर्दछौ। ढिलै भएपनि आखिर सत्यको जित, न्यायको जित भएको छ।’
Photo1 3