उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्राकृतिक र मानव सिर्जित जोखिमबाट मानव जीवन, र वित्तीय सुरक्षा प्रदान गर्न बिमा क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन्।
बिहीबार बिमा बहस कार्यक्रममा बोल्दै मन्त्री पौडेलले जोखिम न्यूनीकरण, बचत कर्जा र लगानी अभिवृद्धिलाई रोजगारी सिर्जनाजस्ता माध्यमबाट अर्थतन्त्रलाईसमेत बिमा क्षेत्रले महत्त्वपूर्ण योगदान पुर्‍याउने बताएका हुन्।
उनले भने, ‘प्राकृतिक र मानव सिर्जित जोखिमबाट मानव जीवन, व्यवसाय र वित्तीय सुरक्षा प्रदान गर्न बिमा क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको छ। बचत कर्जा, लगानी अभिवृद्धि, रोजगारी सिर्जनाजस्ता माध्यमबाट अर्थतन्त्र निर्माण गर्न बिमा क्षेत्रले महत्त्वपूर्ण योगदान रहन्छ।’
साथै उनले बिमा क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकारले निरन्तर प्रयास गर्दै आइरहेको बताए। उनले सरकारले लिएको नीतिगत बिमाको दायरा क्रमशः बिस्तारै हुँदै गइरहेको बताए।
यसैगरी, उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक विकासमा बिमा क्षेत्रले धेरै नै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए। उनले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा बिमा क्षेत्रमा करिब २ लाख व्यक्तिहरूले रोजगारी पाएको समेत बताए।  
उनले भने, ‘वास्तवमा बिमा क्षेत्रले नेपालको आर्थिक विकासमा धेरै नै महत्त्वपूर्ण  भूमिका निर्वाह गरेको छ। करिब प्रत्यक्ष र अप्रत्यक्ष रूपमा बिमा क्षेत्रमा करिब २ लाख व्यक्तिहरूले रोजगारी पाएका छन्।’