ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले हामीसँग भएको स्रोतलाई अधिकतम प्रयोग गर्नुपर्ने बताएका छन्।
बुधवार विद्युत् नियमन आयोगको डकुमेन्ट म्यानेजमेन्ट सिस्टम (डिएमएस) शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री खड्काले हामीसँग भएको स्रोतलाई अधिकतम प्रयोग र परिचालन गर्न नसके सम्पन्न देश बन्न नसक्ने बताएका हुन्।
उनले भने,‘हाम्रो के उपाय छ र ? गरिब देश हामीसँग भएको अधिकतम स्रोतलाई प्रयोग र परिचालन नगर्ने हो भने हामी कसरी सम्पन्न हुन सक्छौँ ? जे नकारात्मक टिका टिप्पणी आउँछन् त्यसलाई चिरेर स्रोतलाई अधिकतम प्रयोग गरेर अगाडि बढ्नुपर्छ। ’
यसैगरी, उनले विद्युत् क्षेत्रमा देखिएका समस्या सरकार र निजी क्षेत्र मिलेर समाधान गर्नुपर्ने बताए। उनले अलमलिएका कुराहरूलाई निराकरण गरेर प्रविधिमैत्री वातावरण बनाउनुपर्ने बताए। उनले काम गर्ने सिलसिलामा सञ्चार माध्यमहरूमा गलत समाचार सम्प्रेषण भएकोमा आफ्नो ध्यानाकर्षण समेत भएको बताए।