झापामा भारतीय नम्बर प्लेटको स्कोरपिओ गाडीको ठक्करबाट शनिबार राति एक जनाको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मेचीनगर नगरपालिका–६ मा डब्लु बी ७४ बी एन ६८८५ नम्बरको गाडीले पैदलयात्री महिलालाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा परेर मेचीनगर–६ की अन्दाजी ५८ वर्षीया माला थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।
थापालाई बाटो क्रस गर्दै गर्दा साँझ ५ः३० बजेतिर स्कोरपिओले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बिर्तासीटी अस्पताल लगिएकोमा उपचारका क्रममा राति १०ः३५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।
स्कोरपिओ चालक भारतको पानीट्याङ्की बस्ने २१ वर्षीय विकाश विष्टलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ। पैदलयात्री महिलाले बाटो काट्ने क्रममा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।