बैंकिङ्ग समाचार डटकम र बिमा प्राधिकरणको संयुक्त आयोजनामा हुने तथा रिलायबल लाइफको मुख्य प्रायोजन रहेको दोस्रो संस्करणको ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५’ को अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने भएका छन्। 
यही पुस २५ गतै काठमाडौँको मेरियट होटेलमा आयोजना हुने डिस्कोर्शको उद्घाटन अर्थमन्त्री पौडेलले गर्ने भएका हुन्।
पुस २५ गते साढे १२ बजेदेखि हुने डिस्कोर्शमा कूल चार वटा सत्र हुनेछन्। जीवन बिमा, निर्जीवन बिमा, पुर्नबीमा र बिमा क्षेत्रमा प्रविधिको प्रयोगसँग सम्बन्धित सत्र हुनेछन्। 
ती सत्रमा विभिन्न कम्पनीका प्रमुख कार्यकारी अधिकृत, बिमा प्राधिकरण र अर्थ मन्त्रालयका प्रतिनिधहरुको सहभागिता तथा विभिन्न बिमा विज्ञहरूको समेत उपस्थिति रहनेछ। यसैगरी, भारतबाट दुई जना बिमा विज्ञ समेत डिस्कोर्शमा आउनेछन्।
देशको बिमा उद्योगको दिगो विकास, स्थायित्व र प्रवर्द्धन तथा ग्रामीण तहसम्म पहुँच विस्तारमा सकारात्मक भूमिका खेल्ने लक्ष्यसहित बैंकिङ्ग समाचारले २०८० सालदेखि इन्स्योरेन्स डिस्कोर्श आयोजना गर्दै आइरहेको छ। यसअघि बैंकिङ्ग समाचारको आयोजनामा २०८० को भदौ १८ गते काठमाडौँको सोल्टी होटेलमा डिस्कोर्श सम्पन्न भएको थियो।
डिस्कोर्शका क्रममा नेपालमा जीवन र निर्जीवन बिमा कम्पनीहरूले भोग्दै आइरहेको समस्या र चुनौतीका विषयमा गहन छलफल भएको थियो। यस्तै, लक्ष्यबमोजिम बिमाको विस्तार हुन नसक्नुको कारण खोजी भएको थियो भने भावी दिनमा बिमाको पहुँच र व्यवसाय विस्तारमा सरोकारवाला निकायले खेल्नुपर्ने भूमिकाको विषयमा वृहत् छलफल भएको थियो।
डिस्कोर्शको छलफलबाट निस्केको निष्कर्षलाई प्रतिवेदनका रुपमा तयार पार्दै आयोजक बैंकिङ्ग समाचारले अर्थ मन्त्रालय र बिमा प्राधिकरणमा बुझाएको थियो। कार्यक्रम आयोजना गरेर दस्ताबेजकारुपमा प्रतिवेदन तयार पार्दै सरकारी निकायलाई बुझाउँदा भावी दिनमा नीति निर्माण र व्यवसायको दिगो प्रवर्द्धन तथा विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने सम्बन्धित निकायले बताएको थियो।