गायक सविन श्रेष्ठले ‘बिहानीको किरण’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन्। गीतमा उनकै शब्द र सङ्गीत छ।
गीतले प्रेम र एकअर्काबीचको साथको कुरा गर्छ। धोकाधडीमा रुमलिएको युवायुवतीको प्रेममा विश्वास र भरोसाको अपेक्षाको कुरा गर्छ। गीतमा निश्चल र स्वच्छ प्रेमको बयान छ।  
‘बिहानीको किरण..’ सविनप्रतिको आशा र उनको सङ्गीत यात्राको उत्सव पनि हो। प्रेम र साथको सुन्दर भावनालाई समेटेर तयार पारिएको गीतले श्रोतालाई सविनको कथा पनि भन्छ।
“संगीतले मलाई नयाँ जीवन दिएको छ। यो गीत मेरो जीवनको त्यही यात्रा हो, जसले मलाई जिन्दगीलाई फेरि प्रेमिल बनाएको छ,” सविन भन्छन्, “केही आफ्नै भोगाइ र केही कल्पनाको समीक्षण गीतमा समेटेको छु।”
सविनले गीतको भिडियो पनि तयार पारेका छन्। जीवन भट्टराई र लक्ष्मी बर्देवाले अभिनय गरेका छन्। भिडियोको निर्देशन पनि जीवन र लक्ष्मीले नै गरेका छन्। बुद्ध थापाले खिचेको भिडियो विष्णु खड्काले सम्पादन गरेका छन्। गीत निर्माणमा दिनेश श्रेष्ठलगायतको लगानी छ।
यसअघि, सविनले ‘माया...’ बोलको गीत सार्वजनिक गरेका थिए। जुन गीत श्रोता र दर्शकले मन पराएका थिए।
सविनलाई सवारी दुर्घटनाले संगीतको बाटो हिँड्न प्रेरित गरेको हो। २०७९ साल माघ २० गते बिहान सविन एक गम्भीर दुर्घटनामा परे। उनी होसमा आउँदा अस्पतालको शैयामा थिए। शरीरभरि असह्य पीडा, आँखा खोल्दा आफन्तहरूको आँसुले भिजेको अनुहार। त्यो दिनबाट सविनको जीवनको पहिलो अध्याय समाप्त भयो। दोस्रो अध्याय सुरु भयो, त्यो दोस्रो अध्याय संगीतको बाटो हो।
उनी भन्छन्, “मेरो जीवनको पहिलो २० वर्ष पहिलो अध्यायलाई भएछ। त्यसपछि दोस्रो अध्याय सुरु भयो, जुन सङ्गीत हो।”
संगीतलाई साथी बनाएका उनी यसैसँग बाँचिरहेका छन्। संगीतको साधना र त्यसमा गरेको मेहनतलाई दर्शक र श्रोताले कदर गरेपछि उनी अहिले यसमै रमाइरहेका छन्।
अहिले उनको अधिकांश समय संगीतको अध्ययन र साधनामा बित्ने गरेको छ। जसले उनलाई आनन्द दिन्छ। गीत र धुनहरूले उनको मनमा हराएको रङ्ग फेरि फिर्ता गरिदिएको छ । दुर्घटनाले केही समय खोसेको खुसी फिर्ता भएको छ।
दुर्घटनापछि सविनको सङ्गीत यात्रा नारायण गोपालको ‘गल्ती हजार हुन्छन्...’ गीतबाट सुरु भयो। उनका काकासमेत रहेका दिनेश भन्छन्, “सविनले पहिलो पटक गिटार हातमा लिएर त्यो गीत गाएको क्षण म कहिल्यै बिर्सिन सक्दिनँ। उसको स्वरमा सम्भावना देखेपछि मैले उसलाई गाउन प्रेरित गरेँ।”
यो प्रेरणा नै सविनको जीवनको नयाँ गन्तव्य बन्यो। सबिन अहिले त्यही गन्तव्य भेट्ने बाटोमा छन्। सविनका लागि दुर्घटनापछि सुरु भएको दोस्रो अध्याय केवल संगीतको यात्रा मात्र होइन, जिन्दगीप्रतिको नयाँ दृष्टिकोण पनि हो। उनी भन्छन्, “समय रंगीन हुनु र मन खुसी हुनु नै जीवनको रङ्ग हो जसले खुसी दिन्छ।”