नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हरेक ठाउँमा लगभग विद्युत् पुगिसकेको बताएका छन्। 
शनिबार डायस्पोरा नेपालीहरूको नयाँ संस्था युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (यूएनडीओ) को पहिलो अन्तर्राष्ट्रिय महाधिवेशनको प्यानल डिस्कसनमा बोल्दै उनले पहिला लोडसेडिङको अवस्थामा रहेको नेपाल अहिले यसबाट अगाडि बढिसकेको बताएका हुन्।
उनले भने, ‘हिजोको अवस्थाबाट हामी आजको अवस्थामा आइपुगेका छौँ। पहिला लोडसेडिङको अवस्था थियो। अहिले हामी यो बाट निकै अगाडि बढिसकेका छौँ। हरेक गाउँ गाउँमा विद्युत् पुगिसकेको अवस्था छ। केही विकट ठाउँहरूमा पुग्न बाँकी छ।’
यसैगरी उनले अहिले उत्पादित भइरहेको बिजुली करिब करिब ३५ सय मेगावाटको हाराहारीमा रहेको बताए। उनले ३५ सय मेगावाटको हाराहारीमा बिजुली हुँदा पनि ड्राइ सिजनमा नपुग्ने अवस्था रहेको बताए।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सुशीलबाबु ढकालले भौतिक पूर्वाधारका कामहरू गर्न बजेटको अभाव रहेको बताए। उनले डायस्पोराका नेपालीहरूले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरे। 
नेपाल सरकारका सहसचिव कुबेर नेपालीले विद्युतीय सवारी साधनका कारण प्रदूषण घटेको र सार्वजनिक यातायात व्यवस्थित हुँदै गएको बताए।
त्यस्तै, जलवायु परिवर्तन र बसाइँ सराइ विषयको प्यानल डिस्कसनमा विज्ञ अमिना महर्जन, पत्रकार कुन्द दीक्षित, विज्ञ डा. गणेश गुरुङ, वातावरण मन्त्रालयका नरेश शर्माले जलवायु परिवर्तनको जोखिमबारे आफ्नो धारणा राखेका थिए।