प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई उनको दिल्लीस्थित निवासमा अन्तिम श्रद्धाञ्जली दिएका छन्।
प्रधानमन्त्रीले मनमोहन सिंहको निधनमा परिवारप्रति समवेदना पनि व्यक्त गरेका छन्। केन्द्रीय गृहमन्त्री अमित शाह र केन्द्रीय स्वास्थ्य मन्त्री तथा बीजेपी राष्ट्रिय अध्यक्ष जेपी नड्डाले पनि मनमोहन सिंहलाई अन्तिम श्रद्धाञ्जली दिए।
पूर्वप्रधानमन्त्री निवासमा केसी वेणु गोपाललगायत काँग्रेसका नेताहरू पनि उपस्थित थिए।
मनमोहन सिंहको उमेरसँग सम्बन्धित स्वास्थ्य अवस्थाका कारण ९२ वर्षको उमेरमा बिहीबार साँझ दिल्लीको एम्समा निधन भएको हो। घरमै अचानक बेहोस भएपछि उनलाई दिल्लीको एम्स अस्पताल लगिएको थियो।
पूर्वप्रधानमन्त्रीको पार्थिव शरीरलाई सार्वजनिक अवलोकनका लागि दिल्लीस्थित अखिल भारतीय काँग्रेस कमिटी ९एआईसीसी० मुख्यालयमा राखिनेछ।
यस्तै, काँग्रेस सांसद र लोकसभा विपक्षी नेता (एलओपी) राहुल गान्धीले शुक्रवार राष्ट्रिय राजधानीमा उनको निवासमा पूर्व प्रधानमन्त्री मनमोहन सिंहलाई अन्तिम श्रद्धाञ्जली दिएका छन्।
काँग्रेस सांसद राहुल गान्धीले पनि पूर्वप्रधानमन्त्रीका परिवारप्रति समवेदना प्रकट गरेका छन्। काँग्रेस नेता सोनिया गान्धी, प्रियङ्का गान्धी वाड्रा, केसी वेणु गोपाल, देवेन्द्र यादव र अन्य पार्टीका नेताहरू पनि पूर्व प्रधानमन्त्रीको निवासमा उपस्थित थिए।
पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई धेरै नेता तथा व्यक्तित्वहरूले श्रद्धाञ्जली अर्पण गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी केन्द्रीय मन्त्रीहरू अमित शाह र जेपी नड्डाको साथमा उनको अन्तिम श्रद्धाञ्जली दिन पूर्वप्रधानमन्त्रीको निवास पुगेका थिए। उनीहरूले शोकको घडीमा परिवारजनमा समवेदना प्रकट गरेका छन्।