गैँडाको खाक तस्करीमा संलग्न रहेको आरोपमा मकवानपुरको हेटौँडा–८ स्थित कालिका टोलबाट बिहीबार एक जना पक्राउ गरिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चितवन राष्ट्रिय निकुञ्जबाट आएको नेपाली सेनाको टोलीले गैँडाको खाक तस्करीको आशङ्कामा एक जनालाई पक्राउ गरेको हो।
मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक विश्वराज खड्काका अनुसार पक्राउ गरिएको व्यक्तिलाई नेपाली सेनाको टोलीले चितवनस्थित राष्ट्रिय निकुञ्जमै लिएर गएको छ। पक्राउ गरिएको व्यक्तिको नाम खुलेको छैन।
गोली चलेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। स्थानीयका अनुसार दुई वटा सरकारी नम्बर प्लेटको गाडीमा आएका समूहले पाँच राउन्ड गोली चलाएका थिए। घटनाका प्रत्यक्षदर्शीका अनुसार सेनाले अनावश्यक रूपमा गोली चलाएका थिए।
‘सेनाले मान्छेलाई पूर्णरुपमा नियन्त्रणमा लिइसकेका थिए। तर, अनावश्यक रूपमा हवाई फायर गरे।’, घटनाको प्रत्यक्षदर्शीले भने। सेनाले पक्राउ गरेको मानिसको खुट्टामा समेत एक गोली प्रहार गरेको आरोप स्थानीयले लगाएका छन्। ‘पक्राउ गरेको मान्छे भाग्ने सक्ने सम्भावना नै थिएन। एक जनालाई ६–८ जनाले घेरेका थिए। यस्तो अवस्थामा सेनाले अनावश्यक रूपमा गोली प्रहार गरेर स्थानीयलाई त्रसित बनाए।’, प्रत्यक्षदर्शीका अनुसार पक्राउ गरेको मानिसलाई बोरामा कोचेर राखिएको थियो।
गोली चलेपछि स्थानीय त्रसित बनेका थिए। उनीहरूले सेनाको गाडीलाई रोकेर घटनाको विषयमा जानकारी लिन खोजेपछि सेनाले उल्टै उनीहरूलाई नै बन्दुक तेर्साएका थिए। जसका कारण स्थानीयले उक्त गाडी जिल्ला प्रहरी कार्यालय मकवानपुरका सहयोगमा नियन्त्रणमा लिएका थिए। स्थानीय र प्रहरीले गाडी नियन्त्रणमा लिएपछि सेनाको टोलीले स्थानीयसँग माफी मागेका थिए।
प्रहरीका अनुसार चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृत दिनेश श्रेष्ठ, निकुञ्जका सुरक्षार्थ खटिएका नयाँ गोरख गणका उपसेनानी दीपक बाँसकोटा नेतृत्वको टोली खाक तस्करको आरोपीलाई पक्राउ गर्न हेटौँडा आएका थिए।