उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले विधि प्रक्रिया पूरा गरेर सहकारी पीडितलाई राहत दिने र दोषीलाई कानुनको दायरामा ल्याउने बताएका छन्।
बिहीबार चितवन विमानस्थलमा नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नागरिकको बचतमा बदमासी गर्ने दोषीहरूले कुनै हालमा उन्मुक्ति नपाउने बताए। उनले मन्त्रिपरिषद्बाटै सहकारीको विषय हल गर्न अध्यादेश ल्याउने निर्णय भइसकेको बताए। 
‘दोषीहरूलाई कारबाही गर्ने गरी र पीडितहरुको बचत फिर्ता पनि गर्ने गरी सरकारले सिस्टम बनाएर काम गरिरहेको छ,’ उनले भने, ‘यो सरकारले यसअघिका सरकारले गर्न नसकेका र बाँकी रहेका कामहरूमा सुधार गर्न काम अघि बढाइरहेको छ।’
कानुनभन्दा माथि कोही पनि छैन भन्ने कुरा अहिले स्थापित भएको पनि उनले बताए। सहकारी संस्थाको नियमन र बचतकर्ताको डुबेको रकम फिर्ता गर्ने गरी  सहकारीसम्बन्धी ऐन, २०७४, राष्ट्र बैङ्क ऐन, २०५८ र निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ मा संशोधन गर्ने अध्यादेश मङ्गलवार मन्त्रिपरिषद् बैठकले पारित गरेको थियो।  
सञ्चारकर्मीहरूले रास्वपा सभापति रवि लामिछानेका सन्दर्भमा राखेको प्रश्नमा उपप्रधानमन्त्री सिंहले आफूहरू सरकारमा आएपछि विधिको शासनअनुसार देश अघि बढिरहेको भन्दै गल्ती गर्ने कसैले पनि उन्मुक्ति नपाउने दाबी गरे।
रास्वपा कै सदस्य सहभागी संसदीय समितिको सिफारिसका आधारमा लामिछानेमाथि छानबिन अघि बढिरहेको पनि उनले बताए। ‘रुल अफ ल सबैलाई बराबरी लागू हुन्छ भन्ने कुरालाई सरकारले अघि बढाएको छ,’ उनले भने, ‘ सांसदका दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमालेसहितको सरकार बनेपछि विकासको कामले पनि गति लिएको छ। यसअघि रोकिएका कामहरुले पनि गति पाएका छन्।’ 
नवलपुरमा नमुना सदरमुकाम बनाउने काम पछिल्लो ५ वर्षदेखि अगाडी बढ्न नसकेकोमा अहिले आफूले सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेपछि प्रक्रिया अघि बढाएको सिंहले बताए। नवलपुर जिल्लाको एकीकृत नमुना सदरमुकामको विस्तृत परियोजना प्रतिवेदन डीपीआर ०७६ फागुनमा तयार भएपनि काम अघि बढ्न सकेको थिएन। त्यस्तै देशको विशेष संरचनाहरूलाई व्यवस्थापन र सञ्चालनका लागि काम अघि बढेको बताए। यसअघिका सरकारले उसै हुन्छ भनेका विषयहरूलाई आवश्यक नियमकानून बनाएर सञ्चालनमा ल्याउन अहिले सरकारले द्रुत गतिमा काम गरिरहेको र यसको सकारात्मक परिणाम केही समयमा देखिने दाबी गरे। 
चितवनको सौराहामा आयोजित हात्ती महोत्सवमा सहभागी हुन चितवन आएका उपप्रधानमन्त्री सिंहले महोत्सवहरूले आर्थिक गतिविधि बढाउने बताए। ‘निजी क्षेत्रले गरेको कुरालाई प्रोत्साहित गर्ने काम त सरकारले गर्नुपर्‍यो नि। नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान राम्रो छ। महोत्सवहरूले त्यसमा टेवा पुग्ने भएकाले यस्तो कार्यलाई बढुवा दिनुपर्छ,’ उनले भने।